दक्षिण अफ्रिका, १२ असार । दक्षिण अफ्रिकाको इस्ट लन्डन सहरको एउटा रात्रिकालीन क्लबमा कम्तीमा १७ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ती शवहरू आइतवार सबेरै फेला परेका थिए र कैयौँ अरू घाइते भएको हुनसक्ने ठानिएको छ।
कुन परिस्थितिमा उक्त घटना भयो भन्ने विषय अनुसन्धानकै क्रममा छ, एक प्रहरी प्रवक्ताले न्यूजरूम अफ्रिका टेलिभिजन च्यानलसँग भनेका छन्।
हामी अहिलेको विन्दुमा कुनै अनुमान गर्न चाहँदैनौँ, ब्रिगेडिअर टिम्बिनकोशि किनानाले भने।
समाचारहरू अनुसार मृतकको शव उनीहरूका आफन्तलाई पनि हेर्न दिइएको छैन।
उक्त क्लबलाई बन्द गर्न स्थानीयहरूले माग गरेका छन्।
इस्ट्रेन केपको उक्त घटनास्थलमा ठूलो सङ्ख्यामा आपत्कालीन सुरक्षा कर्मचारीहरू खटाइएका छन्।
घटनास्थलमा रहेकी इस्ट्रन केपका पुलिस कमिस्नरले उक्त रात्रिकालीन क्लबमा भागदौड मच्चिएको आरोप लागेको जनाएकी छन्।
बीबीसीले त्यसलाई पुष्टि गर्न सकेको छैन।
विस्तृत विवरण अझै आइरहेका छन्।
मृतकहरूको मृत्युको कारण पनि प्रस्ट छैन।
स्थानीय सञ्चारमाध्यमहरूले विषालु पदार्थ वा भागदौडका कारण त्यसो भएको हुनसक्ने आकलन गरेका छन्।
इन्योबेनी टाभर्नभित्र खिचिएका तस्बिरहरूमा शवहरू भुईँ र टेबलमा रहेको देखिए पनि चोटको कमै सङ्केत देखिएका छन्।बीबीसी
