नवलपुर, २८ फागुन ।  पुस्तक प्रकाशक कम्पनी फाइनप्रिन्टको आयोजनामा आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित हर्कपुरमा फाइनप्रिन्ट फिभर शुरु हुँदैछ । हर्कपुरमा चौधरी फाउण्डेसनले सञ्चालन गरेको उन्नति कल्चरल भिलेजमा शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका लेखकको उपस्थिति रहनेछ । साथै उनीहरूका रोचक एवं वौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् । कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गर्नुका साथै पाठकसँग संवाद एवं अन्तक्र्रिया पनि गरिने फाउण्डेसनका महाप्रबन्धक दामोदर भण्डारीले बताउनुभयो ।कार्यक्रमले पाठक एवं लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ ।

फाइनप्रिन्ट फिभरका अवसरमा सांसद गगन थापा, महानायक राजेश हमाल, अभिनेत्री मनिषा कोइराला र सञ्चारकर्मी रवि लामिछानेको समेत सहभागिता रहनेछ । उक्त अवसरमा ‘देशजगत्’ शीर्षकको कार्यक्रममा लेखक एवं उद्यमी जीवा लामिछानेसँग कांग्रेस नेता गगन थापाले संवाद गर्नुहुनेछ ।

यसैगरी अभिनेत्री मनिषा कोइरालासँग स्वरूप आचार्यले ‘बाँच्ने अभिलाषा’बारे संवाद गर्नुहुनेछ । ‘राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवं नेता रवीन्द्र मिश्रसँग सञ्चारकर्मी रवि लामिछानेले छलफल गर्नुहुनेछ ।    ‘पुँजीवाद र स्वतन्त्र समाज’ नामक सत्रमा मुराहरी पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गर्ने बताइएको छ । साथै ‘धमिराहरू’ शीर्षक सत्रमा लेखक राजीव उपाध्यायसँग प्रकाश रिमालले संवाद चलाउने कार्यक्रम छ ।

यसैगरी ‘इन्द्रेणी’ शीर्षकको सत्रमा निरञ्जन कुँवरसँग उहाँको पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’को सेरोफेरोमा रहेर प्रतीक्षा कट्टेलले संवाद गर्नुहुनेछ । ‘रहर’ कथासङ्ग्रहका लेखक सुरेश बडालसँग ‘रहरका रङ’ शीर्षक सत्रमा प्रकृति भट्टराई बस्नेतले संवाद गर्नुहुनेछ ।

‘अर्थनीति र राजनीति’ शीर्षक सत्रमा विनोद चौधरीसँग उमेश चौहानले कुराकानी गर्नुहुनेछ । ‘किताब मनको साथी’ शीर्षक सत्रमा महानायक राजेश हमालले पुस्तकबारेमा आफ्ना अनुभव, पुस्तकप्रति आफ्नो  आकर्षण एवं  लगावबारे चर्चा गर्नुहुनेछ । सर्वसाधारणमाझ उहाँ अध्ययनशील अभिनेताका रूपमा चिनिनुहुन्छ ।

फिभरका अवसरमा उहाँले आफ्नो किताब पढ्ने बानी कसरी विकास भयो, किताबसँगको पहिलो साक्षात्कार कस्तो रह्यो, यसप्रतिको लगाव कसरी बढ्दै गयो भन्नेलगायत विषयमा आफ्ना अनुभव सुनाउनुहुनेछ । कार्यक्रमका अवसरमा ‘सेतो धरतीको एक दशक’ शीर्षक सत्र पनि रहनेछ । यसमा लेखक अमर न्यौपानेले पुस्तक बजारमा आइसकेपछि पाठकबाट कस्तो प्रतिक्रिया पाउनुभयो, यसले आफ्नो जीवनमा केकस्तो प्रभाव पार्यो भन्ने विषयमा पनि उहाँले आफ्ना धारणा राख्नुहुनेछ । फिभरका अवसरमा ‘सेतो धरती’को विशेष संस्करण लोकार्पण गर्ने कार्यक्रमसमेत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर