जयपुर, २७ फागुन । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख दादी हृदय मोहिनीको निधन भएको छ ।
मुम्बईस्थित निजी अस्पतालमा ९३ वर्षको उमेरमा उहाँको बिहीबार निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पछिल्लो झण्डै १५ दिनदेखि मुम्बईमा उहाँको उपचार भइरहेको थियो ।
ईश्वरीय विश्वविद्यालयकी यसअघिकी प्रमुख दादी जानकीको झण्डै एक बर्ष अगाडि निधन भएपछि मोहिनीले प्रमुखको जिम्मेबारी सम्हाल्दै आउनु भएको थियो ।
उहाँको शव शुक्रबार माउन्ट आबु रोडमा रहेको ईश्वरीय विश्वविद्यालयको मुख्यालयमा राखिने भएको छ । त्यहाँ उहाँलाई अन्तिम श्रद्धाञ्जली दिइने अधिकारीहरूले जनाएका छन् ।
उहाँको अन्त्येष्टि भने श्रद्धाञ्जली दिएको भोलिपल्ट यही मार्च १३ तारिखमा मात्रै गरिने योजना बनाइएको छ ।
–––