काठमाण्डौं, १० असार । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल फाइनलमा पुग्नबाट बन्चित भएको छ ।
मलेसियाको किनरारा ओभलमा शुक्रबार सेमिफाइनलको खेल हुँदै गर्दा घनघोर पानी परेकोले नेपालले युएई विरुद्ध ब्याटिङ नै गर्न पाएन । पूरा म्याच नै रद्द गरियो र भाग्यमानी युएई स्वत: फाइनलमा पुयो ।
सो स्पर्धामा टस जितेर पहिले बलिङ गरेको नेपालले निकै राम्रो प्रदर्शन गरेको थियो । नेपाली टोलीले युएईलाई ८१ रनमा सीमित गरी अलआउट गरेको थियो । त्यसमा नेपालका अस्मिना कर्माचार्य एक्लैले ५ विकेट लिएकी थिइन् । नेपाल फाइनलमा पुग्ने बलियो सम्भावना देखिएको थियो ।
तर दुर्भाग्य पानीले नेपालको नियति बगाएर लग्यो । उसै पनि बर्षाको कारण खेल आधा घण्टा ढिलो सुरु भएको थियो । पछि नेपालको ब्याटिङ गर्ने पालीमा ठूलो पानी आयो ।
अनि खेल नै रद्द भयो र युएई फाइनल पुगेको हो ।
समूहगत खेलमा युएई विजेता बनेर सेमिफाइनलमा पुगेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता बनेको थियो ।
नेपालले समूह चरणमा तीन खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो । हङकङसँगको त्यही यौटा हार आज नेपाललाई महँगो बन्यो ।
