युक्रेन, ५ असार । युक्रेनको युद्धग्रस्त दक्षिणी क्षेत्रमा सेनाको प्रगति सुस्त भएपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँका सहरहरूको पहिलो पटक भ्रमण गर्नुभएको छ ।

रुसी घेराबन्दीमा रहेको माइकोलाइभ सहरको भ्रमण गर्दै उहाँले
क्षतिग्रस्त भवनहरूको निरीक्षणका साथै सैनिक, सरकारी अधिकारी र स्वास्थ्यकर्मीहरूलाई भेट्नुभयो ।

युक्रेनी राष्ट्रपतिले ओडेसाको पश्चिमी सहरको पनि भ्रमण गर्नुभयो जुन युद्ध सुरु भएदेखि नियमित रूपमा रुसी आक्रमण भोगिरहेको छ।

ब्ल्याक सीको तटलाई कब्जा गर्ने रुसी प्रयासमा यी दुवै सहरहरू निसानामा परेका छन्।

मस्कोले पूर्वी डोन्बास क्षेत्र कब्जा गर्ने प्रयासमा केन्द्रित रहने निर्णय गरेपछि जेलेन्स्कीले किएभमा नियमित रूपमा अन्तर्राष्ट्रिय नेताहरूसँग भेट गर्नुभएको छ ।

तर पछिल्ला साताहरूमा उहाँले पूर्वका खार्किभलगायत लडाइँ भइरहेका क्षेत्रहरूको समेत भ्रमण गर्नुभएको छ ।

जीवित रहनु महत्त्वपूर्ण छ। जबसम्म तपाईँ बाँच्नु हुन्छ तबसम्म एउटा बलियो युक्रेनी पर्खाल रहन्छ जसले देशको रक्षाको गर्छ, जेलेन्स्कीले भ्रमणका क्रममा ओडेसाका सेनाहरूसँग भन्नुुभयो ।

म युक्रेनका जनता र हाम्रो राज्यको तर्फबाट तपाईँले गरिरहनुभएको महान् काम र उत्कृष्ट सेवाको लागि धन्यवाद दिन चाहन्छु उहाँले भन्नुभयो ।

माइकोलाइभमा जेलेन्स्कीले सेनाहरूलाई पदक दिनुभयो र उनीहरूलाई युक्रेनको हेरचाह गर्न आग्रह गर्दै भन्नुभयो आफ्नो ख्याल राख्नुहोस्। यो काम तपाईँ मात्र गर्न सक्नुहुन्छ।

यो सहर लामो समयदेखि रुसी सेनाको प्रमुख लक्ष्य बनेको छ र त्यहाँ बेलाबेला आक्रमण भइरहेको छ।

यो सहर युद्धको सुरुवातदेखि रुसले ओगटेको सहर खेरसनबाट १०० किलोमिटर उत्तर पश्चिममा अवस्थित छ।

यसै साताको सुरुमा माइकोलाइभका गभर्नर भिटालिइ किमले सहरमा किएभको प्रतिरक्षा प्रणाली सुस्त बनाउनका निम्ति रुसी सेनाले खेरसन नजिकको पुल ध्वस्त पार्न लागेको दाबी गरेका थिए।
स्थानीय अधिकारीहरूले युक्रेन लामो दूरीको अस्त्रहरूमा निर्भर रहेको बताए जुन पश्चिमा राष्ट्रहरूले समयमै उपलब्ध गराउने बताएका छन्।

बेलायतको रक्षा मन्त्रालयले शनिवार रुसले डोनेट्स्क क्षेत्रमा अगाडि बढ्ने प्रयास गरिरहेको बतायो जुन लुहान्स्कसँगै डोन्बासको भूभागमा पर्छ।

युक्रेनी सेनाले सेभेरोडोनेट्स्कको वरपर कारबाही जारी राख्दै लुहान्स्कस्थित सिरोटाइन र डोनेट्स्कस्थित क्रास्नोपिल्यामा रुसी आक्रमण रोकेको बताएको छ।

रुसी सेनाले सहरमा चौबीसै घण्टा गोलाबारी जारी राखेको छ, सो प्रान्तमा युक्रेनी सेना लडाइँ गरिरहेको अन्तिम सहरका गभर्नर सर्गे गैडेले बताए।

रुस समर्थित पृथकतावादीहरूद्वारा नियन्त्रित डोनेट्स्क सहरमा अधिकारीहरूले युक्रेनी बमबारीबाट पाँच सर्वसाधारण मारिएका र १२ जना घाइते भएको बताएका छन्।

यसैबीच युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का सचिवले हरेक दिन ५०० हाराहारी सैनिकहरू मरिरहेको सरकारी अधिकारीहरूको विवरण अस्वीकार गरेका छन्।

ओलेक्सिइ डानिलोभले सरकारी अधिकारीहरूसँग सान्दर्भिक जानकारी नभएको बताए। यसअघि युक्रेनी अधिकारीहरूले एक दिनमा १०० जनाको मृत्यु भइरहेको बताएका थिए।

किएभमा मेयर भिटाली क्लित्सकोले बीबीसीसँग आफ्नो देशले अन्तिम रुसी सैनिकले युक्रेन छोडेपछि मात्रै शान्तिवार्तामा प्रवेश गर्ने बताएका छन्।

उनले रुसी जनताले अन्ततः आफ्ना सेनाहरूले राष्ट्रपति भ्लादिमिर पुटिनको महत्त्वाकाङ्क्षाका निम्ति ज्यान गुमाएको महसुस गर्ने बताए।

शुक्रवार किएभ भ्रमणबाट फर्किएका यूकेका प्रधानमन्त्री बोरिस जनसनले युक्रेन थाकने चेतावनी दिदै सहयोगी राष्ट्रहरूले रुसविरुद्धको युद्धमा युक्रेनलाई लामो समयसम्म साथ दिन महत्त्वपूर्ण भएको बताउनुभयो ।

गत फेब्रुअरी २४ मा रुसले सुरु गरेको आक्रमणका कारण साढे चार हजार गैरसैनिक मानिस मारिएको र साढे पाँच हजारभन्दा बढी मानिस घाइते भएको यूएनको तथ्याङ्क छ।

त्यस्तै १३ लाखभन्दा बढी मानिस पलायन भएको बताइएको छ।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर