काठमाडौँ, २६ फागुन । कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको छ । पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको सङ्ख्या पनि अहिलेसम्म करिब १०० मात्र रहेको जानकारी छ ।
विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गर्नुभएको अभिलेख कार्यालयसँग छ । नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गर्नुभएको जनाइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल पनि विगत वर्षमाभन्दा साधुसन्तको सङ्ख्या यसपटक ५० प्रतिशतले नै घटेको बताउनुहुन्छ । महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तका लागि फाल्गुन कृष्ण एकादशी अर्थात् फागुन २५ गते बेलुकीदेखि भोजन, धुनी र बस्ने व्यवस्था गरिसकेको छ ।
फाल्गुन कृष्ण औँसीसम्म साधुसन्तलाई सत्कार गरेर राखी दक्षिणासहित बिदाइ गर्ने प्राचीनकालदेखि विधि छ । दक्षिणासहित बिदाइ गर्ने दिन साधुसन्तको सङ्ख्या बढ्ने गरेको पशुपति गोश्वारा कार्यालयले जनाएको छ । बिहीबारको महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको कोषले जनाएको छ । यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपति आउने भक्तजनका लागि कोषले मास्क अनिवार्य गरेको छ । कोरोनाका जोखिम कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर दर्शनमा आउन आह्वान गरिएको छ । यस वर्ष स्वास्थ्य मापदण्ड पूरा गरेर करिब आठ लाख भक्तजनलाई दर्शन गराउने कोषको तयारी छ ।
शिव–पार्वती रथयात्रा
महाशिवरात्रिको पूर्व सन्ध्यामा योगी नरहरिनाथ ट्र«ष्ट आध्यात्मिक परिषद्ले आज काठमाडौँमा १२ औँ रथयात्रा गरेको छ । मिलनचोकस्थित बानेश्वर महादेवस्थानबाट शुरु भएको रथयात्रा रत्नराज्य माध्यमिक विद्यालय–पुरानोबानेश्वर–गौशाला–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिनकुने–कोटेश्वर महादेवस्थान–तिनकुने–नयाँबानेश्वर हुँदै रत्नराज्य माध्यमिक विद्यालयअघि पुगेर समापन भएको थियो ।
ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाउन रुट परिवर्तन गरिएको महाशाखाले जनाएको छ ।