काठमाण्डौं, १३ जेठ । काठमाण्डौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र(बालेन) साह निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगले आज शुक्रबार विहान घोषणा गरेको निर्वाचन परिणाम अनुसार बालेन साहले सत्ता गठबन्धनको साझा उम्मेदवार कांग्रेस नेतृ सिर्जना सिंहलाई २३ हजार भन्दा बढी मतले हराउनु भएको छ ।

साहले ६१ हजार ७ सय ६७ मत ल्याउनु प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत मात्र पाउनुभएको छ । मेयरका अर्का उम्मेदवार एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत ल्याउनु भएको छ ।

काठमाण्डौं महानगरको उपमेयरमा भने एमालेको उम्मेदवार सुनिता डंगोल विजयी हुनुभएको छ ।

काठमाण्डौं महानगरको प्रमुखमा निर्वाचित भए लगत्तै बालेन साहले आफ्नो जितलाई कामको सुरुवातको रुपमा लिएको बताउनुभयो ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन परिणाम घोषणा कार्यक्रममा नव निर्वाचित मेयर साहले बताउनुभयो : ‘आजबाट हामीले यसलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएका छौं । हामी अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्नेछौं’ ।

महानगर मतदातालाई परिवारका रुपमा लिएको बताउँदै त्यहाँ उहाँले भन्नुभयो : ‘हामी महानगरवासी सबै एकै परिवार हौं । हामी सबै मिलेर काठमाण्डौंलाई देशकै मात्र नभएर विश्वकै सुन्दर, उत्कृष्ट शहर बनाउनलाई मिलेर सहकार्य गर्ने आशा राखेको छु’ ।

निर्वाचन आयोगले गरेको मतगणना परिणामको औपचारिक घोषणा कार्यक्रम सकिएपछि मेयर बालेनको विजय जुलुस महानगरको परिक्रमामा निस्केको छ। विजय जुलुसमा सहभागी हुन भृकुटीमण्डपमा विहान सबेरै हजारौं हजार समर्थक र शुभचिन्तकको भीड जम्मा भएको थियो ।

जुलुसमा सहभागी हुन युवाहरू निकट जिल्ला धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोकदेखि आएका छन्  । काठमाण्डौ उपत्यकावासीको व्यापक र उत्साहजनक सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर