गण्डकी, ११ जेठ । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ ।
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गर्नुभएको हो । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याउनुभयो ।
यसैगरी प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गर्नुभयो । पोखराको प्रमुखमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको थियो ।
यसैगरी उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी हुनुभयो । गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रत्यासी रानाभाटले ५६ हजार ६६३ मत ल्याउनुभयो ।
उपप्रमुखमा राप्रपाका रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशील साझाका माधव भण्डारीले २६४ र आमुल परिवर्तन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो ।
पोखरा महानगरका ३३ वडामध्ये कांग्रेसले २३, एमालेले नौ र वडा नं २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी हुनुभएको छ । विसं २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २२ वडामा एमाले विजयी बनेको थियो ।
विद्यार्थी राजनीति हुँदै महानगरको प्रमुखसम्म धनराज
पोखरा महानगरपालिका–३३ भरतपोखरीको गैरागाउँमा बुवा ऋतुनाथ आचार्य र आमा जमुनादेवी आचार्यको कोखबाट २०२६ चैत १७ गते जन्मिनुभएका धनराज आचार्य नेकपा (एकीकृत समाजवादी)को कास्की अध्यक्षका साथै केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । विसं २०३९ मा १३ वर्षको उमेरमा भरतपोखरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्यतासँगै उहाँले विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो ।
विसं २०७८ मा एमाले जिल्ला कमिटी कास्कीको सामानान्तर अध्यक्ष बन्नुभयो । एमालेभित्र नेता माधवकुमार नेपालले थालेको समानान्तर गतिविधिमा सामेल उहाँ पार्टी विभाजनसँगै स्थापना भएको नेकपा (एकीकृत समाजवादी)को जिल्ला नेतृत्वमा रहनुभएको छ ।
पोखरा महानगरको शिक्षा विज्ञ, लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी–१ को क्याबिनेट सेक्रेटरी र गभर्नर रहनुभएका उहाँ स्व रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान पोखराको महासचिव हुनुहुन्छ । पढाऔँ अभियान नेपालका सूत्रधार उहाँले अर्थतन्त्र, शिक्षा प्रणाली तथा नीतिका सन्दर्भमा दर्जनौँ कार्यपत्र प्रस्तुत गर्नुभएको छ । विभिन्न तालिम र अध्ययनका सिलसिलामा आचार्यले विश्वका ४५ देशको भ्रमण गरिसक्नुभएको छ । भरतपोखरीको शान्ति उदय मावि हुँदै शैक्षिक यात्रा सुरु गर्नुभएका उहाँले एमबीए र एमएडसम्मको अध्ययन गर्नुभएको छ ।
–––
