काठमाडौँ, ९ जेठ । प्रहरीले खैरो हेरोइनसहित एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले २४६ ग्राम खैरो हिरोइनसहित भक्तपुरका २७ वर्षीय विवेक त्चायना, ताप्लेजुङका ३४ वर्षीय कर्णबहादुर सेलिङ, झापाका २४ वर्षीय योगेशकुमार सेलिङ, झापाका १९ वर्षीय हरदीप राजवंशी र भारतको पश्चिम बङ्गालका २३ वर्षीय अर्जुन रोयलाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्युरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार अवैध रुपमा लागुऔषध कारोबार गरेको अभियोगमा झापा र काठमाडौँबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिको साथबाट बरामद गरिएको खैरो हेरोइनको मूल्य अन्दाजी रु २४ लाख ६० हजार बराबर रहेको ब्युरोले जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत लागुऔषध खैरो हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
मकवानपुरमा ४२२ किलो गाँजा बरामद
मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका–३ बायोखोलास्थित डाँडाबास–पालुङबाट प्रहरीले ४२२ किलो गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सडक किनारमा रोकिराखेको ना६ख ३२४३ नम्बरको मिनि ट्रकबाट गाँजा बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । चौध बोराभित्र २८ प्याकेटमा गाँजा राखेको फेला परेको हो । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
