काठमाडौँ, २ जेठ । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी हुनुभएको हो । बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी हुनुभएको थियो ।
उहाँले सात हजार २०१ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले राससलाई जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाउनुभयो । नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी हुनुभएको छ । उहाँ पनि यसअघिको निर्वाचनमा उपप्रमुख पदमा विजयी हुनुभएको थियो । उपप्रमुख तामाङले सात हजार ६२३ मत पाउनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाउनुभएको छ ।
नौ वटा वडा रहेको नगरपालिकाको छ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसले २, ४, ५, ६, ८ र ९ नं. वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ । वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन् । नगरपालिकामा १७ हजार ९१६ मतदाता छन् । वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४८८ मत खसेको थियो । यो कुल मतदाताको ८०.८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।
सिलिचोङको अध्यक्षमा कांग्रेसका मेवाहाङ विजयी
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ विजयी हुनुभएको छ । मेवाहाङले दुई हजार २०३ मत ल्याएर विजयी हुनुभएको हो । त्यस्तै नेकपा (माओवादी केन्द्र) का योगेन्द्र कुलुङले दुई हजार ९ मत प्राप्त गर्नुभएको थियो ।
यहाँको उपाध्यक्षमा कांग्रेसकै देबिता कुलुङ विजयी हुनुभयो । उपाध्यक्ष कुलुङले दुई हजार ७५ मत ल्याउनुभएको थियो । माओवादीका देवीकुमारी मेवाहाङले एक हजार ७७० मत ल्याउनुभएको छ ।
सिलिचोङमा वडा नं १ र ५ माओवादी केन्द्रले जितेको छ । वडा नं १ को वडाध्यक्षमा माओवादी केन्द्रका गणेश कुलुङ र वडा नं ५ मा ईश्वर राई विजयी हनुभयो । त्यसैगरी वडा नं ३ नं मा कांग्रेसका प्रतापसिंह तामाङले विजय हासिल गर्नुभयो । त्यसैगरी वडा नं २ मा नेपाली कांग्रेसका मोहन शम्शेर कुलुङ विजयी हुनुभयो ।
कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी
जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ प्राप्त गरेर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का धनबहादुर रावतले दुई हजार ५६२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमकली बुढा विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रीता खत्री पराजय हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका आठस्थानीय तहमध्ये सबैभन्दा पहिलो मतगणना कनकासुन्दरीको भएको हो । स्थानीय तह २०७४ को निर्वाचनमा पनि उक्त पालिकामा कांग्रेस विजयी भएको थियो ।
