काठमाण्डौं, २५ फागुन ।  नेपालका वरिष्ठ सरोद बादक मोहनसुन्दर श्रेष्ठको हिजो सोमबार साँझ निधन भएको छ ।  उहाँ ८० वर्षको हुनुहुन्थ्यो ।

स्वर्गिय श्रेष्ठका एक छोरा र दुई छोरी हुनुहुन्छ ।

काठमाडौंको किलागलमा जन्मिनुभएका श्रेष्ठले आफ्नो जीवनको झन्डै पाँच दशक समय सरोद बादनमा बिताउनु भयो ।

श्रेष्ठ सुरुमा स्वरतालिम लिएर गायनमा लाग्नु भएको थियो तर  पछि संगीतमा उहाँको  रुचि बढ्यो । अनि गुरु नारायणप्रसाद श्रेष्ठसँग सरोद वजाउन सिकेर यसैलाई उहाँले आजीवन निरन्तरता दिनुभयो ।

विगत केही वर्ष यता होटेल अन्नपूर्णमा प्रस्तुति दिँदै आउनु भएका श्रेष्ठले किरातेश्वर मन्दिर, राम मन्दिर, यल माया केन्द्र आदिमा पनि आफ्नो सरोद बादन प्रस्तुत गर्नुभएको थियो ।

सन् १९७० देखि सांगीतिक यात्रा सुरु गर्नुभएका  नेत्रहीन श्रेष्ठले तत्कालिन राज दरवारमा पनि संगीतकर्मीको रूपमा काम गरेर सन् २००७ मा अवकाश लिनुभएको थियो । उहाँले रेडियो नेपाल र राष्ट्रिय नाचघरमा पनि काम गर्नुभयो ।

श्रेष्ठ गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्टलगायतका पुरस्कारले सम्मानित हुनुहुन्छ ।

उहाँको पार्थिव शरीर हिजो साँझ अन्तिम श्रद्धाञ्जलीका लागि केही समय पशुपति आर्यघाटमा राखिएको र अन्तिम संस्कार सम्पन्न गरिएको उहाँको परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर