काठमाडौँ, २४ फागुन ।  पाशुपत क्षेत्रमा महत्वका साथ मनाइने महाशिवरात्रिको सन्दर्भ पारेर ‘देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र’ नामक पुस्तक सार्वजनिक भएको छ । पूर्वप्रशासक, आध्यात्मिक चिन्तक एवं साहित्यकार हरिप्रसाद रिमालले लेख्नुभएको पुस्तक आज राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो । पुस्तक सार्वजनिक गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले मल्लकालदेखि नै शासकले पशुपतिनाथको आराधनामा कमी गरेकाले कृपादृष्टि पनि कमै हुन थालेको बताउनुभयो ।

“लिच्छविकालका शासकले आफूलाई पशुपति भट्टारक लेख्थे, खासमा नेपालको शासक पशुपतिनाथ हुन्, छाना र गजुरसमेत सुनको भएको पशुपतिमा सुनको जलहरी राख्दा विरोध गरियो, पशुपतिमा पूजा आराधना गर्न प्रधानमन्त्री केपी शर्मा ओली जानुभएकामा पनि विरोध भयो”, उहाँले भन्नुभयो ।

पशुपतिमा सुनकै शङ्खले अघ्र्य चढाइने र सुनको घण्ट बजाइने गरेकाले सुनको जलहरी राख्नुहुन्न भनी विरोध गर्नुको अर्थ नरहेको संस्कृतिविद् गुरुङको भनाइ थियो । पशुपतिनाथमा बगलामुखीको जस्तै सुनको ‘कोश’ नै चढाइनुपर्ने उहाँको तर्क थियो ।

पुस्तकका लेखक रिमालले पशुपति दर्शन गर्न जाने बेलामा भक्तजन विधि पूरा नगरी एकैपटक मूल मन्दिरमा दर्शन गरेको देखेपछि दर्शन विधि जानकारी दिनकै लागि पुस्तक लेख्ने प्रेरणा मिलेको बताउनुभयो । भगवान्ले ‘मेरो रखवारी गरेर बस्नेको पूजा नगरी मकहाँ आउनेसँग म खुसी हुन्नँ’ भनी विभिन्न पौराणिक ग्रन्थमा भन्नुभएको उल्लेख गर्दै उहाँले जानकारीमूलक सानो पुस्तिका तयार पार्ने सोच अघि बढ्दा ४०४ पृष्ठको पुस्तक तयार भएको बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले पशुपतिनाथका विषयमा जानकारी दिन पुस्तक सफल भएको बताउनुभयो । कोषले पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदाका विषयमा नेपालीमा पुस्तक प्रकाशन गरी त्यसको अङ्ग्रेजी अनुवादसमेत सार्वजनिक गर्न लागिएको जानकारी उहाँले दिनुभयो ।

शिवमहापुराण भाग–१ छिट्टै बजारमा आउन लागेको जानकारी दिँदै उहाँले भाग–२ र भाग–३ पनि प्रकाशनको तयारी भइरहेको बताउनुभयो । गुरुयोजनाअनुसार पशुपति हिन्दू विश्वविद्यालय, पशुपति सङ्ग्रहालय, पशुपति अस्पताल, गौशालालगायत भौतिक संरचना निर्माण गरी पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको तीर्थस्थलका रूपमा विकास गरिने उहाँको प्रतिबद्धता थियो ।

डा रामानन्द गिरीका चेला केशवानन्द गिरीले प्रकृतिले नेपालीलाई पशुपति दिए पनि पशुपतिको संस्कृति नेपालीले बुझ्न नसकेको बताउनुभयो । अथर्ववेदमा पशुपतिका विषयमा धेरै व्याख्या गरिएको भए पनि ती कुरालाई नेपालीले जान्न नसकेको उहाँको भनाइ थियो । ‘देवाधिदेव पशुपतिनाथ र पशुपतिक्षेत्र’ पुस्तकमा पशुपति क्षेत्रका विषयमा धेरै जानकारी भए पनि भैरवका विषयमा विस्तृत तथ्य आउन बाँकी रहेको उहाँको भनाइ थियो । यी विषयलाई आगामी संस्करणमा समेट्न पनि उहाँले सुझाव दिनुभयो ।

पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य राख्दै उपप्राध्यापक राम लोहनीले ११ अध्याय र आठ अनुसूचीमा बाँडिएको पुस्तकमा पशुपति क्षेत्रका विषयमा धेरै जानकारी समेटिएको बताउनुभयो । पुस्तकमा हिनामिना भएका पशुपतिका सम्पत्तिका विषयमा उल्लेख गरिएकाले सूचनामूलक सामग्री पाठकसामू आएको उहाँले बताउनुभयो । सामान्य भाषिक त्रुटिबाहेक पुस्तक पठनीय र सङ्ग्रहणीय रहेको समीक्षक लोहनीको भनाइ थियो ।

प्रकाशक उत्कृष्ट प्रकाशन प्रालिका प्रबन्धक निर्देशक हेमप्रसाद मास्केले पशुपतिनाथका विषयमा जानकारी समेटिएको पुस्तक प्रकाशन गर्न पाउनु सौभाग्य विषय भएको बताउनुभयो । पुस्तकको आवरण ख्यातिप्राप्त इञ्जिनीयर शङ्करनाथ रिमालले तयार पार्नुभएको हो । कार्यक्रममा उहाँले उहाँले महाशिवरात्रि अघि प्रकाशन भएको पुस्तक अध्ययन गरेर भगवान् शिवको वचन अनुसारकै दर्शन विधि पालना गरेर पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्न भक्तजनलाई आह्वान गर्नुभयो ।

पशुपति क्षेत्रका उत्पत्ति, जात्रा, पर्व, कोषको गठन विधि, गुरुयोजना, कोषको काम, कर्तव्य अधिकारलगायत विषयसमेत समेटिएको पुस्तकको मूल्य रु ५०० राखिएको छ । पुस्तक बिक्रीबाट प्राप्त हुने रकम धार्मिक र सामाजिक काममा लगाइने जनाइएको छ । पशुपति क्षेत्रमा बनेका निजी मठमन्दिरका समस्याका विषयमा समेत पुस्तकमा चर्चा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर