काठमाडौँ, १६ वैशाख ।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । यही वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा आज साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको बताउनुभयो । सो प्रणालीमा आज ७ बजेसम्मको विवरणअनुसार एक लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् ।
फिर्ता भएन पौडेलको उम्मेदवारी
भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको उम्मेदवारी कायम भएको छ । फिर्ता लिने अन्तिम समय आज साँझ ५ बजेसम्म उहाँको उम्मेदवारी फिर्ता नभएको हो ।
उम्मेदवारी फिर्ता नलिन दबाब दिँदै पौडेल निवासमा बिहानैदेखि नेता कार्यकर्ताको भीड लागेको थियो । पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता रेनु दाहाल भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवार हुनुहुन्छ । पौडेलले आफ्नो उम्मेदवारी रुख तथा चारतारे झण्डा विरुद्ध नभएर लोकतान्त्रिक पद्धतिको प्रयोग र प्रवद्र्धनमा केन्द्रीत रहेकाले फिर्ता नलिएको बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता नभएको बताउनुभयो । नेकपा (एमाले)का तर्फबाट महानगरमा विजय सुवेदी प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ ।
पौडेलले उम्मेदवारी दिँदा नेपाली कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा प्रस्तावक र कांग्रेस महासमिति सदस्य मीना खरेल समर्थक रहनुभएको छ । पौडेल विसं २०४९ सालको स्थानीय चुनावमा तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । वरिष्ठ अधिवक्ता पौडेल राष्ट्रियसभाको सदस्य भइसक्नुभएको छ ।
–––
