काठमाडौं, १६ वैशाख । नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले जलवायु संकट र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन दुई देशको आवश्यकता रहेको वताउँनु भएको छ ।
उहाँले उक्त कुरा नेपाल अमेरिका सम्बन्धको ७५औं वर्षगाँठको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै वताउनु भएको हो ।
उहाँले जनता जनताबीचको सम्बन्ध अमेरिका नेपालको सम्बन्ध न बहु पुस्ताको जग भएको बताउँदै सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता यस सम्बन्धको जग भएको बताउनुभयो ।
उहाँले जलवायु संकट र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन दुई देशले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।
दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको समृद्ध इतिहासको अमेरिका प्रशंसा गर्ने जनाएको छ। सांस्कृतिक संरक्षणका लागि राजदूत कोष नामक कार्यक्रमले विश्वभरका सांस्कृतिक सम्पदाको संरक्षणमा मद्दत गर्दछ। झन्डै २० वर्षको अवधिमा यस कार्यक्रमले नेपालमा २५ वटा सांस्कृतिक संरक्षण परियोजनालाई सहयोग गरी ३८ लाख डलरभन्दा बढी लगानी गरेको छ। यस कार्यक्रमका परिणाममध्ये काठमाडौँको सुन्दर गद्दी बैठकको जीर्णोद्धार पनि पर्दछ, जारी विज्ञप्तिमा भनिएको छ।
दूतावासले नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले हाम्रो साझेदारीको सशक्त परिणामलाई झल्काउने उल्लेख गरेको छ। सन् १९५० को दशकमा औलोले लगभग २५ प्रतिशत जनसङ्ख्यालाई असर गरेको थियो। युएसएआईडीमार्फत अमेरिकी सरकारले औलो नियन्त्रण कार्यक्रमलाई सहयोग गर्यो र सन् १९६८ भित्र औलोका बिरामीहरूको सङ्ख्या राष्ट्रव्यापी रूपमा २० लाखभन्दा बढीबाट २ हजार ४६८ मा झर्यो, विज्ञप्तिमा भनिएको छ।
महामारी सुरु भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई झन्डै ३८ लाख कोभिड१९ खोपका मात्रा र १२ करोड ४८ लाख डलरभन्दा बढीको कोभिड सहायता प्रदान गरेको जनाएको छ।
गत फागुनमा नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपाल कम्प्याक्ट सम्झौतालाई अनुमोदन गर्यो । यस कम्प्याक्ट कार्यक्रमको प्रतिफलस्वरूप नेपालमा ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणमा मद्दत पुग्नेछ र २ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग पुग्नेछ, विज्ञप्तिमा भनिएको छ।
