काठमाण्डौं, २४ फागुन । म्यान्मारको सैनिक शासनविरुद्धको आन्दोलनमा लागेका एक नेपालीभाषी वर्मेलीको निधन भएको छ । निजलाई पक्राउपछि सरकारी सुरक्षाकर्मीले मारेको प्रदर्शनकारीहरूले  आरोप लगाएका छन् ।

उत्तरी म्यान्मारको शानको मुसे शहरमा सरकारी पक्षले पक्राउ गरेको पाँच दिनपछि हिजो आइतवार ४२ वर्षीय सानोभाइ विश्वकर्माको शव उहाँको परिवारलाई बुझाइएको छ।

विश्वकर्मालाई सुरक्षाकर्मीले पाँच दिनअघि गिरफ्तार गरेका थिए। त्यसपछि नेपालीभाषी समुदायका प्रतिनिधिहरूले प्रहरी चौकीमा पुगेर पटकपटक विश्वकर्माबारे सोधखोज गरेको जानकारी म्यान्मारस्थित नेपाली पत्रकार ज्ञानबहादुर थापा बगालेले जानकारी दिनुभएको छ।

सोधखोजको क्रममा विश्वकर्मालाई पक्राउ नगरिएको सुरक्षाकर्मीहरूले दाबी गरेका थिए। तर आइतवार सुरक्षाकर्मीले उहाँको शव परिवारलाई बुझायो थियो । सुनको गहना बनाउने काम गर्दै आएका मृतक विश्वकर्माका श्रीमती र पाँच छोरा छन्।

म्यान्मारको उत्तरी प्रान्त शानको मुसे सहरमा करिब १०० को सङ्ख्यामा नेपालीभाषी छन्।

मुसेमा बसोबास गर्ने नेपालीभाषीले मृतक विश्वकर्माको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरेका छन्। विश्वकर्माको अन्त्येष्टिमा भएको खर्च मुसेस्थित गोर्खाली समाजले बेहोरेको छ ।

म्यान्मारमा सैनिक कूपछि अहिलेसम्म सुरक्षाकर्मीको कारबाहीमा ५० जनाभन्दा धेरै मानिसको मृत्यु भएको म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ।( समाचार स्रोत वीवीसी)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर