सानेपा, १३ बैशाख । नेपाली कांग्रेसका प्रवक्ता तथा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले हालै दिनुभएको अभिव्यक्ति खेदजनक भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बुधबार अपरान्ह आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँको संयोजकत्वमा बनेको केन्द्रीय प्रचार–प्रसार समिति अन्तरगतको नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिले आयोजना गरेको निर्वाचन भिडियोको विमोचन कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट संबोधन गर्दै उहाँले भन्नुभयो,“देशमा निर्वाचन आचारसंहिता लागू भैसकेको छ तर नेकपा एमालेका अध्यक्षको मुखबाट नेपाली कांग्रेस र हामीले सार्वजनिक गरेको घोषणापत्रप्रति निकै तल्लो स्तरको अभिव्यक्ति दिनुभएको छ । सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन् ।”

नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा.महतले एमालेले आचार संहिताको धज्जी उडाएको र त्यसप्रति संबन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गर्नुभयो ।

नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली काग्रेसको सङ्कल्प पत्रलाई बकवास र पागलहरुको प्रलाप भनेर तुच्छ टिप्पणी गर्नुभएको थियो ।

नेपाली कांग्रेसका प्रवक्ता तथा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. महतले आफ्नो पार्टीले शालिनतापूर्वक निर्वाचन अभियान सञ्चालन गरेको पनि बताउनुभयो ।

उहाँले स्थानीय सरकार जनताको घरदैलो पुग्ने सरकार भएको नेपाली कांग्रेसले स्थानीय आश्यकता र नागरिकका चाहना संबोधन गर्ने गरी स्थानीय तहमा नै घोषणापत्र ल्याउने पनि उल्लेख गर्नुभयो ।

उहाँले नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको घोषणापत्र स्थानीय सरकारलाई सबल,सक्षम,उत्तरदायी र सेवाप्रवाहमुखी बनाउने ध्येयले ल्याएको नीतिगत संकल्प भएको उल्लेख गर्दै यसले जनताका अप्ठ्याराहरु समाधान गर्न सघाउने बताउनुभयो ।

संकल्पमा उल्लेख भए अनुसार ६५ बर्षमाथिका ज्येष्ठ नागरिकलाई भत्ता दिंदा पिछडिएको,दलित र विपन्न वर्ग लाभान्वित हुने पनि उल्लेख गर्नुभयो । उहाँले नेपाली कांग्रेसले भ्रष्टाचारमुक्त सुशासनयुक्त सरकार दिने पनि बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसको समाजवादले सबैलाई अवसर दिनुको साथै शिक्षा,स्वास्थ्य,आर्थिक र सामाजिक विकासमा पछाडि परेको वर्गलाई उठाउने लक्ष्य लिएको पनि उल्लेख गर्नुभयो ।

उहाँले नेपाली कांग्रेसले राज्य सञ्चालनको अवसर पाउदा जहिले पनि जनताको र देशको हितमा काम गरेको दावी गर्नुभयो । “हामी काम गछौं उनीहरु गफ गर्छन” उहाँले भन्नुभयो“तर हाम्रो काम बिकीरहेको छैन, उनीहरुको गफ बिकिरहेको छ ।”

उहाँले हाम्रा नीति,कार्यक्रम र पार्टीले तीनै तहका सरकारमा रहदा गरेका कामलाई जनतासमक्ष पु¥याउन चर्चित कलाकारहरुको टिमले निर्माण गरेको भिडियो सन्देशमूलक रहेको भन्दै यसको निर्माता टिम र कलाकारहरुलाई बधाईसहित शुभकामना पनि दिनुभएको थियो ।

नेपाली कांग्रेस सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिका संयोजक डीबी गुरुङ्को सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार–प्रसार नेटवर्कका संयोजक गोविन्द भट्टराईले पनि नेपाली कांग्रेसले जनतालाई अधिकार सम्पन्न बनाउन आन्दोलन गर्ने,संविधान बनाउने,निर्वाचन गर्ने र आर्थिक–सामाजिक विकासका लागि नीतिगत परिवर्तन र सो अनुरुप कार्यक्रम ल्याएको बताउनुभयो ।

कार्यक्रममा सांस्कृतिक संघका महासचिव दुर्गा रायमाझी र गीतका रचनाकार सुवाश के.सी.ले पनि बोल्नुभएको थियो ।

कृष्ण रेउले र प्रीति आलेको स्वर रहेको “कांग्रेस नै चाहियो” भन्ने बोलको चुनावी गीति भिडियोको विमोचन पनि कांग्रेस प्रवक्ता डा.महतले गर्नुभएको थियो । सो भिडिया युट्यूवमा अपलोड भैसकेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर