काठमाडौँ, ९ वैशाख । संयुक्त राज्य अमेरिकाको उच्च–स्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि आज यहाँ आउने भएको छ ।
अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाउने सन्दर्भमा सो टोलीले नेपाल भ्रमण गर्न लागेको हो ।
नेपालस्थित अमेरिकी राजदूतावासले जनाएअनुसार अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने छ ।
दूतावासका अनुसार, उहाँहरूको समूह हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र यस गम्भीर सङ्कटका बारेमा थप जानकारी लिन उहाँहरूले एक पदयात्रामा भाग लिनुहुने भएको छ ।
सो टोली पोल्याण्ड र भारतलगायतका देशहरूको लामो भ्रमणको सिलसिलामा नेपाल आउन लाग्नुभएको हो ।
सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क)को नेतृत्वमा रहेको टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड) कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) सामेल हुनुहुन्छ ।
