चीन, ५ वैशाख । शाङ्घाईमा कोरोनाभाइरस सङ्क्रमण भएपछि तीन वृद्धहरूको मृत्यु भएको सरकारी निकायले स्वीकार गरेको छ
चीनको आर्थिक केन्द्र मानिने साङ्घाईमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
कोभिड नियन्त्रण गर्ने उद्देश्यले केही सातादेखि उक्त सहरमा लकडाउन घोषणा गरिएको छ।
सहरको स्वास्थ्य आयोगले प्रकाशित गरेको एउटा विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्धलाई कोभिड भएको थियो र उनीहरूमा जटिल समस्याहरू देखा परेका थिए।
तीनै जनाले कोभिडविरुद्ध खोप लगाएका थिएनन्।
उक्त सहरमा यसअघि कोभिडका कारण कसैको मृत्यु नभएको दाबी चीन सरकारको छ। तर उक्त दाबी शङ्कास्पद छ।
उक्त सहरमा सोमवार थप २२,२४८ जनामा कोभिड भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन्।
मार्चयता चीन सरकारले कोभिडसँग सम्बन्धित कारणले बिरामीको मृत्यु भएको पहिलो पटक स्वीकार गरेको हो।
शाङ्घाईको स्वास्थ्य आयोगका अनुसार मृत्यु हुने ती बिरामीलाई अस्पतालमा भर्ना गरिएको थियो।
शाङ्घाईमा ६० वर्षमाथिका ३८ प्रतिशत मानिसले मात्र कोभिड खोपको पूर्ण मात्रा पाएको सरकारी तथ्याङ्कले देखाउँछ।बीबीसी
