काठमाडौँ, २२ फागुन । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ । उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच दबाएर परीक्षण गरिएको पानी बागमतीमा झार्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले उपत्यकावासीको लामो सपना पूरा भएको बताउनुभयो  ।

विकास निर्माणमा एकपछि अर्को सफलता प्राप्त भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । आफ्नै पार्टीभित्रकाले काम गर्न नदिएपनि फागुन १० गतेदेखि २२ गतेसम्म ठूला आयोजना उद्घाटन वा शिलान्यासका काम भइरहेको उहाँले सुनाउनुभयो ।

अहिलेको परीक्षणका क्रममा २६० लिटर मात्र हालिएकामा फागुन २६ गते पानीको मात्रा बढाएर महाशिवरात्रिमा स्नानका लागि वाग्मतीमा स्वच्छ पानी बगाउने योजना पनि उहाँले सुनाउनुभयो ।

“पार्टीकै मानिस प्रत्यक्ष ११६ सिट जितेको आफ्नो नेतालाई हटाएर २३ सिट जितेको नेपाली कांग्रेसकामा निवेदन हाल्न गएका छन्”, समसामयिक विषयमा राजनीतिक टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ।

खानेपानी मन्त्री मणिचन्द्र थापाले नेपाली जनताको खानेपानीको सपना २२ वर्षपछि राजधानीमा मेलम्चीको पानी आएर पूरा भएको छ, कृष्णप्रसाद भट्टराईको पालामा शुरु भएको मेलम्ची आयोजना केपी शर्मा ओलीको पालामा सम्पन्न भएको बताउनुभयो   ।

फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि आज सुन्दरीजलमा आइपुगेको  छ । मेलम्चीको पानी प्रशोधनका लागि सुन्दरीजलमा साँढे आठ करोड लिटर क्षमताका दुई प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ । प्रशोधित पानी सुन्दरीजलबाट लगेर उपत्यकाका नौ स्थानमा निर्माण भएका पानीपोखरीमा हाली त्यहाँबाट वितरण गरिन्छ । अर्को एक पानीपोखरी हाल निर्माण भइरहेको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी उपत्यकामा आउनेछ । दोस्रो चरणको याङ्री र लार्केको विस्तृत परियोजना प्रस्ताव तयार भइसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दोस्रो चरणका दुई खोलबाट थप ३४ करोड लिटर गरी दैनिक ५१ करोड लिटर पानी सुरुङमार्गबाट राजधानी ल्याई वितरण गरिने योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर