काठमाडौ, १७ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन्।
कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने चिन्ता पश्चिमा अधिकारीहरूले गरेका छन्।
रुसको युक्रेन अतिक्रमण सुरु भएको पाँच साता वित्दै गर्दा त्यहाँ मस्कोका सेनाले विभिन्न अवरोध सामना गर्नुमा पुटिनलाई युद्धस्थलको वास्तविकता नबताइनु पनि कारण रहेको ब्रिटिस तथा अमेरिकी जासुसी निकायले जनाएका छन्।
ह्वाइट हाउसले भनेको छ यही कारण पुटिन र उनका सैन्य जर्नेलहरूबीच तनाव बढेको छ।
वरिष्ठ सल्लाहकारहरूले रुसी नेतालाई युद्धस्थलमा सेनाको खराब प्रदर्शनबारे बताउन डराएका छन्।
पुटिनले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धको यकिन परिणामबारे समेत पूर्ण रूपमा नबुझेको ह्वाइट हाउसकी प्रवक्ताले बताइन्।
अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले यो अवस्थाको परिणाम युद्ध अन्त्य गराउने वार्ता प्रयासमा पर्न सक्ने बताए।
आफ्नै सेना र आफ्नै युद्धबारे सम्पूर्ण जानकारी नहुनु भनेको असहज परिस्थिति भएको उनले बताए।
यो उनकै सेना हो। उनकै युद्ध हो। उनले नै युद्ध रोजेको हो। यस्तो बखत यदि उनलाई सबै सन्दर्भको जानकारी छैन वा आफ्ना सेना युक्रेनमा कुन हदमा हारिरहेको छ भन्ने जानकारी छैन भने त्यो अलि असहज बनाउने विषय नै हो,पेन्टागनका प्रवक्ताको भनाइ।
ब्रिटिश जासुसी संस्थाका प्रमुखले रुसले युक्रेन युद्धअवस्थाबारे उसको पूर्व आकलनमा ठूलो भूल गरेको बताएका छन्।
त्यहाँ रुसी सेनाको मनोबल खस्किएको, युद्ध सामग्रीको अभाव भएको तथा सेनाले आदेश पालना गर्न अटेर गरिरहेको उनले बताए।
क्रेम्लिनले यी भनाइबारे कुनै प्रतिक्रिया दिइसकेको छैन।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले शक्तिमा रहेकाहरूसमक्ष सत्य बोल्न डराउने प्रवृत्ति नै निरङ्कुश शासकहरूको मुख्य कमजोरी हुने गरेको बताएका छन्।बीबीसी
