काठमाडौ, ९ चैत । रुसले अतिक्रमण गरेको एक महिना पुग्नै लाग्दा युक्रेनी सेनाले कतिपय ठाउँमा सफलतापूर्वक प्रत्याक्रमण गरिरहेको अमेरिकाले बताएको छ।

युक्रेनी सेनाले खासगरि दक्षिणी भेगमा त्यस्ता कारबाही गरिरहेको पेन्टागनले जनाएको छ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार अतिक्रमणकारी रुसी सेनाको कब्जामा पुगेका केही भूभागमा पुनः नियन्त्रण कायम गर्नेगरी युक्रेनी सेनाले सफलतापूर्वक कारबाही गरिरहेको छ।

पेन्टागनका प्रवक्ता जोन कर्बीले युक्रेनीहरू खासगरि दक्षिणी भूभागका केही क्षेत्रमा प्रत्याक्रमणमा उत्रिएको बताएका छन्।

राजधानी किएभस्थित बीबीसी सम्वाददाता लीज डुसेटले अतिक्रमण सुरु हुँदाताका पूर्णतः रक्षात्मक अवस्थामा रहेका युक्रेनीहरू अहिले ठाउँठाउँमा प्रत्याक्रमणमा उत्रिएको बताइन्।

क्राइमियाको सबभन्दा नजिक रहेको र रुसी कब्जामा गएको खेअरसन सहरलाई आफ्नो नियन्त्रणमा लिन युक्रेनीहरू प्रयत्नरत रहेका छन्, उनले बताइन्।

दक्षिणको अर्को सहर भोज्नेसेन्स्कमा स्थानीय नागरिक तथा युक्रेनी सेनाले रुसी ट्याङ्कको एक लहरलाई नै ध्वस्त पारेर सहरमा आक्रमण गर्न खोज्ने रुसी सेनालाई पछि हट्न बाध्य पारेका छन्।

राजधानी किएभको पश्चिममा रहेको माकारिभ नगरमा फेरि युक्रेनी झन्डा फहराइएको विवरण आएका छन्।

तर दक्षिणी बन्दरगाह सहर मारिओपोलमा भने सहरको केन्द्रमै चर्को लडाइँ भइरहेका छन्। त्यहाँ रुसी बमबारी रोकिएको छैन।

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले मारिओपोल सहर नै अब बाँकी नरहेको समेत बताएका छन्।

युक्रेनकी उपप्रधानमन्त्रीले इरिना भेरेस्चुकले ६ दिन अगाडि बमबारीमा परेको थिएटरमा फसिरहेको ठानिएका सयौँ मानिसलाई उद्धार गर्नबाट अझैपनि उद्धारकर्मीहरूलाई रोकिएको बताउनुभएको छ ।

कम्तीमा एक लाख मानिस मारिओपोल सहरबाट भाग्न खोजिरहेको र उनीहरू खाना र पानीको अभावबाट गुज्रिरहेको उहाँले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरजले युक्रेन युद्ध अन्त्यको निम्ति एक भावपूर्ण अपिल गर्नुभएको छ ।

उहाँले सो युद्ध नैतिकरूपमा अस्वीकार्य, राजनीतिक रूपमा बचाउ गर्नै नसकिने अनि सैन्यरूपमा व्यर्थ भएको बताउनुभयो ।

रुसी अतिक्रमणपश्चात् निरन्तर बमबारी तथा विस्थापनको बाध्यताका कारण युक्रेनी जनताहरूको जीवन नर्क बनेको उहाँले बताउनुभयो।

युद्धले गर्दा खानेकुरा, ऊर्जा र मलखादको मूल्य अचाक्ली बढेको कारण विश्वव्यापी भोकमरीको खतरा समेत बढाएको उहाँको भनाइ थियो।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर