अमेरिका, ८ चैत । युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिनले अब त्यहाँ जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ ।

त्यसैको तयारीस्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका जस्ता झुटा खबर फैलाएको उहाँले बताउनुभयो।

विगत २६ दिनका लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोध अनि पश्चिमा समुदायको एकताबद्ध प्रतिक्रियाका कारण पुटिन भित्तामा पुगेको भन्दै अब उनले झनै चर्का कारबाही गर्न सक्ने बाइडनले बताउनुभएको छ ।

उहाँले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताउनुभयो ।

यस्ता दाबीले बरु रुस त्यस्ता अस्त्र प्रयोग गर्न लागिपरेको स्पष्ट सङ्केत गर्ने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको उनको दाबी बिल्कुल झुटा हो। म त्यसको ग्यारेन्टी गर्छु।

साथै युक्रेनमा त्यस्ता अस्त्र रहेको दाबी पनि गरिएका छन्। यी स्पष्ट सङ्केत हुन् उनी ती प्रयोग गर्न चाहन्छन्।

अगुवा व्यापारीहरूसँग कुरा गर्दै बाइडनले पुटिनले अमेरिकाविरुद्ध साइबर हमलाको तयारी गरिरहेको हुनसक्ने पनि बताउनुभयो।

त्यस्ता हमलालाई रोक्न र प्रतिक्रिया जनाउन अमेरिकाले सबै किसिमको यत्न गर्ने पनि उनले बताउनुभयो ।
आर्थिक प्रतिबन्धहरू लगाएको बदलामा रुसले त्यसो गर्न सक्ने उहाँको भनाइ थियो।

साथै उहाँले अमेरिकी कम्पनीहरूलाई आफ्नो डिजिटल सुरक्षा प्रबन्ध सुदृढ बनाउन पनि आह्वान गर्नुभयो ।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर