काठमाडौ, ८ चैत । रुसी फौजको नियन्त्रणमा रहेको मारिओपोलका केही भूभागमा पहिलो पटक अन्तर्राष्ट्रिय पत्रकारहरू पुगेका छन्।

रोयटर्स समाचारसंस्थाले त्यहाँ प्रलयकारी अवस्था देखिएको भन्दै आवासीय भवनहरू अपार्टमेन्ट ब्लकहरू जम्मै जलेर काला भएका उल्लेख गरेको छ।

कैयौँ दिनसम्म भूमिगत आश्रय लिएर ज्यान जोगाएका परिवारहरू बाहिर निस्कँदै गरेको र शवहरूलाई बाटोकै छेउछाउमा गाडिएको पत्रकारहरूले बताएका छन्।

जताततै भग्नावशेष मात्र देखिएको र खानेकुरा तथा खानेपानीको अभाव भएको उनीहरूले बताए।

त्यहाँको अवस्था वर्णन गर्दै एक स्थानीयवासी नदेज्दा सुखोरूकोभाले भनिन्, गाडी वा केटाकेटीको आवाजविहीन एक मृत सहर जहाँ जलिरहेका घर र यत्रतत्र शव नै शव देखिन्छ।

हमलामा परी थुप्रै सर्वसाधारण मारिएका छन्। मारिओपोल लगभग चारैतिरबाट रुसी फौजको घेराबन्दीमा रहेको छ।

रुसी अतिक्रमणअघि मारिओपोलमा साढे चार लाख मानिसको घर थियो। अहिले तीन लाख मानिस बिजुली, ग्यास अथवा पानीको अभावमा बाँच्न बाध्य भएका छन्।

अधिकारीहरूका अनुसार हमलाका कारण शहरका ८० प्रतिशत घर या त ध्वस्त भएका छन् या त क्षतिग्रस्त भएका छन्।

आक्रमण जारी रहँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका निम्ति पुनः अपील गरेका छन्।

तर त्यस्तो वार्ताले पनि सुरक्षा ग्यारेन्टी तथा संवैधानिक परिवर्तनजस्ता दीर्घकालीन विषयमा सहमति हुन नसक्ने उनले बताएका छन्।

ती विषयमा भएका निर्णय युक्रेनी जनताबीच जनमत सङ्ग्रहका निम्ति प्रस्तुत हुनुपर्ने उनले उल्लेख गरे।

सोमवार रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनका प्रवक्ताले चाहिँ दुई देशका प्रतिनिधिबीच जारी वार्तामा पर्याप्त प्रगति नभइसकेकाले दुई नेताबीच प्रत्यक्ष वार्ताको समय नआएको उल्लेख गरेका थिए।

युक्रेनी वार्ताकार मिखाइलो पोदोल्याकले बीबीसीसँग कुरा गर्दै भौगोलिक अखण्डता तथा सार्वभौमिकताबारे कुनै सम्झौता नहुने बताए।

युक्रेनी प्रतिरोधका कारण मस्कोले अवस्थाको पुनः समीक्षा गरिरहेको पनि उनले जनाए।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनका ठूला सहरहरू आत्मसमर्पण गर्न रुसले दिएका समयसीमाका कारण नझुक्ने पनि बताएका छन्।

किएभले मारिओपोल आत्मसमर्पण गरे त्यहाँका मानिसलाई सुरक्षित मार्ग दिने रुसको प्रस्ताव अस्वीकार गरेको छ।

एउटा रुसी पत्रिकामा आएका विवरणले विगत साढे तीन साताको युद्धका क्रममा झन्डै १०,००० रुसी सैनिकको ज्यान गएको सङ्केत गरेको छ।

कोमसोमोल्स्काया प्राभ्दा नामक लोकप्रिय दैनिकको वेबसाइटमा आइतवार प्रकाशित एक लेखमा रक्षा मन्त्रालयले दिएको तथ्याङ्क उद्धृत गरिएको छ।

तर लगत्तै उक्त लेखलाई वेबसाइटबाट हटाइएको थियो र सम्पादकले ह्याक भएका कारण गलत लेख छापिएको बताएका छन्।

मारिओपोल मस्कोका लागि विभिन्न कारणले महत्त्वपूर्ण मानिएको छ। त्यसैले सुरुदेखि नै रुसी सेनाले उक्त बन्दरगाह सहरलाई आफ्नो रणनीतिक उद्देश्यसहित निसानामा राखेको छ।

बीबीसीका रक्षा संवाददाता फ्र्याङ्क गार्डनरका अनुसार पहिलो कारण मारिओपोलको भूमिबाट रुसले क्राइमिया र डोन्बाससँग जोड्ने बाटो पाउन सक्ने भएकाले हो।

मारिओपोल एजोभ सागरको बन्दरगाह भएकाले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पार्न सकिने रुसको आकलन छ।

मारिओपोलमा एजोभ ब्रिगेड नामक युक्रेनी लडाकुहरूको समूह छ। उक्त समूहमा उग्रदक्षिणपन्थी अतिवादी र नवनाजीहरू छन्।

युक्रेनी लडाकु समूहमा उक्त समूह निकै सानो भए पनि रुसले युक्रेनमा नवनाजीहरू रहेको भनेर प्रचार गरिरहेको छ। मारिओपोलमा विजय हात पार्न सके मस्कोले आफ्नो सैन्य कारबाहीबाट नवनाजीलाई दमन गर्न सकिएको भनेर व्यापक प्रचार गर्न सक्छ।

मारिओपोलमा रुसले युक्रेनलाई परास्त गरे दुवै पक्षमा त्यसको मनोवैज्ञानिक प्रभाव पर्ने देखिन्छ।

रुसले सरकारी सञ्चारमाध्यमबाट युक्रेनमा आफ्नो सैन्य कारबाहीको उद्देश्य पूरा भएको दाबी गर्न सक्छ। युक्रेनमा धावा बोल्ने रुसी राष्ट्रपतिका लागि यसको ऐतिहासिक महत्त्व छ।

उनी युक्रेनको ब्ल्याक सीको तटीय क्षेत्रलाई नोभोरोसिया (याँ रुस)अर्थात् अठारौँ शताब्दीमा रुसी साम्राज्यको भूभागको रूपमा हेर्छन्।

पुटिन किएभस्थित पश्चिमतिर ढल्किएको सरकारको उत्पीडनबाट रुसीलाई उद्धार गरेर उक्त अवधारणलाई बिउँताउन चाहन्छन्। त्यो उद्देश्यको बीचमा अहिले मारिओपोल रहेको छ।

युक्रेनका लागि मारिओपोलको पराजयबाट ठूलो चोट पर्ने छ। सैन्य र आर्थि रूपमा मात्र हैन, रुसी सेनासँग सङ्घर्ष गरिरहेका मानिसको मनमा पनि।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर