काठमाडौ, २० फागुन । बीबीसी, सीएनएन, ब्लुमबर्ग, सीबीएस न्यूज र एबीसी न्यूजले रुसमा आफ्नो सेवा निलम्बन गर्ने निर्णय गरेका छन्।
राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको नयाँ कानुनले युक्रेनमा जारी युद्धको बारेमा ूमिथ्या समाचारू फैलाएको अभियोगमा मानिसहरूलाई १५ वर्षसम्म जेल सजाय दिनेछ।
कानुन लागु भएपछि रुसमा स्वतन्त्र रिपोर्टिङ बन्द गरिने सम्भावना छ। त्यहाँ समाचार संस्थाहरूलाई युक्रेनमा जारी द्वन्द्वलाई ूयुद्धू भनेर उल्लेख गर्न अनुमति दिइएको छैन।
सीबीएसका प्रवक्ताले प्रसारण नगर्ने जानकारी दिँदै भनेका छन्, हामीले नयाँ मिडिया कानुनलाई मध्यनजर गर्दै हाम्रो समूहको परिस्थितिको निगरानी गरिरहेका छौँ।
एबीसीले पनि सेवा रोक्ने निर्णय नयाँ कानुनमा आधारित भएको बताउँदै भनेको छ, ूस्थितिको मूल्याङ्कन गर्न र रुसमा हाम्रा समूहहरूको सुरक्षामा यसले कस्तो अर्थ राख्छ भनेर निर्धारण गर्न आवश्यक छ।“
यसअघि शुक्रवार बीबीसी, सीएनएन र ब्लुमबर्गले रुसभित्रको सेवाहरू निलम्बन गरेको थियो।
रुसको सञ्चार नियामक निकायले फेसबुक, ट्विटर, यूट्यूब र अन्य स्वतन्त्र स्थानीय सञ्चारमाध्यमहरूमा पहुँचमा पनि रोक लगाएको छ।बीबीसी
