चितवन, २० फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन ।”

फरक प्रसङ्गमा उहाँले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो,“हाम्रो उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ ।” सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उहाँले स्पष्ट पार्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा महतको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर