काठमाण्डौ, २० फागुन । नेपाल सरकार र प्रतिबन्धित नेकपा नेत्र बिक्रम चन्द समूह बीच तीन बुदे सहमति भएको छ । सरकारी र चन्दसमूहको बार्ता टोली बिच तीन चरणको बार्ता भएको थियो । आज बिहान भएको बार्तापछि सहमति भएको हो ।
राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।
तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको छ भने सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिनुभयो।
सहमतिपछि रिहाइ हुनेमा सचिवालय सदस्य धर्मेन्द्र, बास्तोला, हेमन्त प्रकाश ओली, माइला लामा लगायत पर्नेछन् । सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिपत्रमा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै सरकारले बन्दी बगाएकाहरुको रिहाइ गर्ने उल्लेख छ । साथै विप्लव समुहका नेता कार्यकर्तामाथिको मुद्दासमेत खारेज हुने भएको छ ।
मंगलबर मात्रै सरकार र विप्लवको पार्टी दुबैले वार्ताटोली गठन गरेका थिए । वार्ताटोलीमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई एवं विप्लवका तर्फबाट सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदय चलाउने दीपक हुनुहुन्छ ।