काठमाडौँ, २० फागुन । म्यान्मारमा बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन्। जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ।
म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताइन्।
बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ।
सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ।
गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्।
राष्ट्रसङ्घीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते तुल्याइएको बताइन्।
उनका अनुसार एउटा भिडिओ क्लिपमा प्रहरीले निसशस्त्र स्वास्थ्य स्वयमसेवकको टोलीलाई पिटिरहेको देखिन्छ।
सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर छन्। एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ।
सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ। उक्त चुनावमा सू चीको दल न्याश्नल डेमोक्र्याटिक पार्टीले ठूलो जित हासिल गरेको थियो।
सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन। उसले निर्वाचन आयोगमा हेरफेर गरेको छ र यही वर्ष ताजा चुनाव गराउने वाचा गरेको छ।
अन्तर्राष्ट्रिय रूपमा बढ्दो निन्दाकाबीच सेनाले सडक प्रदर्शनविरुद्धको कदम बढाएको छ र बुधवार थुप्रै ठाउँहरूमा हिंसात्मक झडपहरू भएका छन्।
सेनाले बाह्य प्रतिबन्धहरूको सामना गर्न तयार रहेको बताएको छ। राष्ट्रसङ्घीय दूत बूर्गनरले सैनिक जर्नेलहरूविरुद्ध कडा कदम उठाउन राष्ट्रसङ्घलाई आग्रह गरिन्।
उनले म्यान्मार सेनाका उपप्रमुखसँगको कुराकानीमा दण्डनीय कदम उठाउने चेतावनी दिएकी थिइन्।
सेनाले प्रदर्शनकारीहरू मारिएको भनिएको घटनाबारे टिप्पणी गरेको छैन। पछिल्लो हिंसा दक्षिण पूर्वी एशियाका छिमेकी देशहरूका विदेशमन्त्रीहरूसँगको बैठक लगत्तै भएको छ।–स्रोत वीवीसी