काठमाडौँ, १५ फागुन । प्रजातन्त्रवादी वकिलहरूको छाता सङ्गठन नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) काठमाडौँको अध्यक्षमा सुशीलराज पौडेल निर्वाचित हुनुभएको छ ।
एशोसिएशनको आज सम्पन्न चौथो अधिवेशनमा अध्यक्षका उम्मेदवार पौडेलले ३५५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी मनिराम उपाध्यायले २०१, जयन्तीकुमार ढकालले १७० र धु्रवराज शर्मा पराजुलीले ८८ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिनुभयो ।
यस्तै उपाध्यक्षमा सुरेन्द्रसिंह ऐरले ४४७, सचिवमा माधव दुलालले ४७५ र कोषाध्यक्षमा अमृता अर्यालले ४३९ मत ल्याई विजयी हुनुभएको संयोजक खरेलले बताउनुभयो । सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । डिएलएको आज सम्पन्न निर्वाचनमा ८२४ मत खसेको थियो ।
–––
