किभ, १४ फागुन । युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ ।
युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गर्नु भएको हो । मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उहाँले जानकारी दिनुभयो ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ ।
पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन् । घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ ।
देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खवर पठाए पनि उहाँले अस्वीकार गर्नु भएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले नै युक्रेनबाट उहाँलाई उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई उहाँले अस्वीकार गरेको जनाएका छन् ।
अमेरिका अधिकारीहरूलाई उहाँले जवाफ दिनुभएको छ, “यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन । म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु ।”
विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता समेत रहनु भएका उहाँको यस जवाफका बारेमा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ ।
जबसम्म शत्रुले आक्रमण गरिरहने छन्, तबसम्म त्यसको सामना आफुले गरिरहने अठोटसहित उहाँले आफू युद्ध मैदानमै उत्रिएको देखिने एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राख्नु भएको छ ।
युक्रेनमा रूसी आक्रामणको निन्दा गर्ने प्रस्ताब विफल
युक्रेनविरुद्ध रूसको ‘आक्रामण’ लाई ‘अत्यन्तै कडा शब्दमा’ विरोध गर्दै रूसीे फौज तुरुन्त फिर्ता लिन माग गरिएको सङ्कल्प प्रस्ताब संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबाट पारित हुन सकेन ।
शुक्रबारको रूसको आक्रमणको विरोध गरिएको उक्त प्रस्तावलाई रूसले भिटो लगाएका कारण विफल भएको हो ।
रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए । प्रस्ताव पारित हुनका लागि ९ देशको मत परेको भए हुनेथियो । तर रुसले भिटो प्रयोग गरेर प्रस्ताव विफल पारेको हो ।
रुससहित अमेरिका, बेलायत, फ्रान्स र चीन सुरक्षा परिषदका स्थायी सदस्य हुन् र उनीहरुमाथि भिटो शक्ति छ । रुसले आफ्नो निन्दा गरिएको प्रस्ताव विफल पार्नका लागि भिटो प्रयोग गरेको हो । प्रस्तावमाथि मतदान हुँदा भारत, चीन र युएई अनुपस्थित रहेका हुन् ।
संयुक्त राज्य अमेरिका र अल्बेनियाद्वारा सह–लेखन गरिएको यस प्रस्तावमा परिषद्का १५ सदस्यमध्ये ११ जनाले मतदान गरेका थिए भने चीन, भारत र संयुक्त अरब इमिरेट्सले सहभागिता जनाएनन् ।
परिषद्को स्थायी सदस्यको रूपमा मस्कोको भिटो शक्तिको कारण यो प्रस्तावना असफल हुने निश्चित प्रायः थियो । तथापि, यस बहसले सदस्य राष्ट्रहरूलाई रूसको छिमेकीविरुद्ध पूर्ण आक्रमणको प्रक्षेपण गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको निर्णयको निन्दा गर्ने अवसर दिएको छ ।
