काठमाण्डौं, १९ फागुन । प्रेस काउन्सिल नेपालद्धारा आयोजित ‘पत्रकार आचारसंहिता, महिला उत्तरदायी निर्देशिका, २०७६ र मिडियामा महिला सवाल’ विषयक बृहत् छलफल कार्यक्रम नौ बुँदे ‘बल्थली घोषणापत्र’ जारी गर्दै हालै सम्पन्न भएको छ ।

महिला पत्रकारहरुको उपस्थितीमा काभ्रे जिल्ला पनौतीस्थित बल्थलीमा आयोजित सो कार्यक्रममा व्यापक छलफल पछि उठेका महत्वपूर्ण सुझावलाई आत्मसाt गर्दै सो घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा काउन्सिलको स्वःअनुगमनलाई अझ तीव्र र प्रभावकारी बनाइने उल्लेख गर्दै पत्रकार आचारसंहिता, महिला उत्तरदायी निर्देशिका २०७६ मा उल्लिखित प्रावधानलाई पूर्णरूपमा पालना गर्न÷गराउन पत्रकारलाई सजग गराउने जनाइएको छ । काउन्सिलले अनुगमन अनुसन्धानबाट दोषी ठहर भएका पत्रकार, मिडियाको नाम अनिर्वाय सार्वजनिक गर्ने निर्णय गरेको घोषणापत्रमा उल्लेख छ ।

घोषणा पत्रका नौ बुँदा 

१. प्रेस काउन्सिल नेपालको स्वःअनुगमनलाई अझ तीव्र र प्रभावकारी बनाइनेछ ।

२. पत्रकार आचारसंहिता, महिला उत्तरदायी निर्देशिका, २०७६ मा उल्लिखित प्रावधानलाई पूर्णरूपमा पालना गर्न पत्रकारलाई सजग गराइनेछ ।  यसको प्रभावकारी अनुगमनमा प्रेस काउन्सिल नेपालले निरन्तर जोड दिनेछ । साथै समय÷समयमा ‘नमुना सर्वेक्षण’ गरि सरोकारवालासँग बहस छलफल गर्नेछ ।

३. काउन्सिलको अनुगमन, अनुसन्धानबाट दोषी ठहर भएका पत्रकार, मिडियाको नाम अनिवार्य सार्वजनिक गरिनेछ ।

४. नेपाल प्रहरीले बलात्कार तथा यौन दुव्र्यवहारजस्ता अति जघन्य अपराधका पीडित महिला, बालबालिका तथा लैङ्गिक अल्पङ्ख्यकको विवरण दिने क्रममा उनीहरूको नामथर, पेसा तथा आफन्तको पहिचान खुलाउँदा पीडितलाई थप पीडा पुग्ने मात्र नभई पीडितको आफन्तलाई समेत मनोवैज्ञानिक असर पर्ने भएकाले यस्ता विषयमा सूचना दिँदा सजग रहन ध्यानाकर्षण गराउँदै नेपाल प्रहरीलाई लेखी पठाइनेछ । साथै प्रेस काउन्सिल नेपालले यस्ता विषयमा सूचना सम्प्रेषण गर्दा सजग हुन मिडियालाई निर्देशन दिनेछ ।

५. विभिन्न पत्रकार र मिडियाबाट लैङ्गिक÷लैङ्गिक अल्पसङ्ख्यकका विषयमा भएका पत्रकार आचारसंहिता प्रतिकूल सामग्री, त्यसउपर भएको सुनुवाइ र कारबाहीको छुट्टै अभिलेख राखिनेछ । साथै अनुगमन, अध्ययन, अनुसन्धानबाट देखिएका दोषीलाई तत्काल कारबाही गरी सार्वजनिक गरिनेछ ।

६. समाचार सम्प्रेषण गर्दा विद्यमान संविधान, ऐन, नियम, आचारसंहिता र निर्देशिकामा उल्लिखित प्रावधानहरूको अक्षरशः कार्यान्वयन गर्न हामी सम्पूर्ण पत्रकार प्रतिवद्ध छौँ । साथै सोको  पालना भए÷नभएको ख्याल गर्दै प्रेस स्वतन्त्रताको उपयोगमा सबै पत्रकारका लागि उदाहरणीय बन्नेछौँ ।

७. लैङ्गिक÷लैङ्गिक अल्पसङ्ख्यक विषयमा विभिन्न मिडियामा आएका÷आउने पत्रकार आचारसंहिता एवं निर्देशिका प्रतिकूल (नकारात्मक) विषयबस्तु र त्यसउपर विभिन्न सरोकारवाला निकायबाट भएका अध्ययन, अनुसन्धान, अनुगमनबारे प्रेस काउन्सिल नेपाललाई जानकारी गराइनेछ । यस सम्बन्धमा काउन्सिलमा उजुरी दिन हामी प्रतिवद्ध छौँ । साथै प्रेस काउन्सिल नेपाल समेत यी विषयको जानकारी लिई अभिलेख राख्न प्रतिवद्ध छ ।

८. सामाजिक सञ्जाल (जस्तैः फेसबुक, युट्युव, टिकटक आदि) मा आएका÷आउने भ्रामक सामग्री नियन्त्रण गर्न प्रेस काउन्सिल नेपालसहित सरोकारवाला निकायबाट नेपाल सरकारलाई तत्काल ध्यानाकर्षण गराइनेछ ।

९. काउन्सिलले सरोकारवालाहरूसँग समेत छलफल गरि÷परामर्श लिई पत्रकार आचारसंहिता, निर्देशिकाहरू समयानुकूल संशोधन, परिमार्जन गर्नेछ ।

घोषाणापत्र जारी गर्दै कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले काउन्सिलले अनुगमनकार्यलाई निरन्तर जोड दिनुका साथै समय÷समयमा ‘नमुना सर्वेक्षण गरी सरोकारवालासँग बहस गर्ने बताउनुभयो । उहाँले सहभागीबाट आएको सल्लाह र सुझावलाई ग्रहण गर्दै घोषणापत्र जारी गरिएकाले महिलासम्बन्धी समाचार सम्प्रेषण गर्दा पेशागत हित र अवसरलाई प्रोत्साहन एवम् संरक्षण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर