काठमाडौँ, २१ माघ । गए रातिदेखि परेको अविरल वर्षाका कारण शिवपुरी, फुल्चोकी र चन्द्रागिरीलगायत काठमाडौँ उपत्यका वरिपरिका डाँडामा हिमपात भएको छ ।देशको उच्च पहाडी तथा हिमाली भेगमा बाक्लो हिमपात भएको छ । मनाङ, मुगु, जुम्ला, डोल्पा, र हुम्लालगायतका विभिन्न स्थानमा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । बिहीवारदेखिको निरन्तर हिमपातसँगै जनजीवन कष्ठकर बनेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको चन्द्रागिरीमा आज बिहानैदेखि हिमपात भएको हो । चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताउनुुभयो ।
गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ ।
यस्तै हिँउ परेकाकारण त्रिभुवन राजपथसमेत अवरुद्ध हुन पुगेको छ । गएरातिदेखि परेको वर्षाका कारण उक्त राजपथअन्तर्गतको सिमभन्ज्याङमा बाक्लो हिँउ पर्दा बाटो अवरुद्ध भएको हो । हिमपातका कारण काठमाडौँबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएको प्रहरीले जनाएको छ ।
–––
