त्रिशूली, १८ फागुन । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो ।

आयोजनामा रहेका सातवटा ब्लकमध्ये स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कूल रहेको स्थान) र फोर–वे (नेपाली सेनाको ब्यारेक पछाडिको चौर) मा जडान गरिएको सौर्य प्यानलमार्फत १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । उक्त विद्युत् देवीघाट जलविद्युत केन्द्रको प्रसारण प्रणालीमार्फत सिधै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनाले २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात स्थानको खाली जग्गा उपयोगमा ल्याउने क्रममा अबको केही दिनमा थप पाँच मेगावाट विद्युत् उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

थप विद्युत् उत्पादनका लागि विदुर नगरपालिका–६ र १२ नं मा पर्ने रातमाटे, केराघारी, हेलिप्याड र कफीघारीको स्थान नं १ र स्थान नं २ गरेर थप पाँच स्थानमा अहिले जग्गा सम्याउनेदेखि प्यानल जडानको काम भइरहेको छ

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’ मार्फत काम भइरहेको छ । करिब रु तीन अर्ब ८० करोड लाग्ने प्रक्षेपण गरिएकाले यस आयोजना विद्युत् उत्पादनका लागि महङ्गो भए पनि विद्युत् उत्पादनको वैकल्पिक स्रोत र नमूनाका रूपमा लिइएको प्राधिकरणले जनाएको छ ।

प्राविधिकहरूका अनुसार आयोजनाबाट २५ मेगावाट विद्युत् भए पनि डिसी (डाइरेक्ट करेन्ट) बाट एसी (अल्टरनेट करेन्ट)मा रूपान्तरण गर्दा प्रयोगयुक्त विद्युत् करिब २२ मेगावाट हुने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर