काठमाडौँ, २१ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर आगामी निर्वाचनमा जनतामाझ जानुपर्ने बताउनुभएको छ । डा कोइरालाले आज आफू निकट नेताहरूसँग छलफल गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई १ नम्बरको पार्टी बनाउन जनतामाझ जानुपर्ने बताउनुभयो ।
उहाँले आम पार्टीका कार्यकर्ताको शिर झुक्न र निराश हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी छौँ, तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर देशको मुहार कांग्रेसले मात्र फेर्न सक्छ भन्ने अभियानमा हामी प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो ।
नेता डा कोइरालाले पार्टीभित्र हुने सबै कार्य न्यायसङ्गत, विधि, विधानसम्मत, विवेकपूर्ण र व्यावहारिक तरिकाबाट गर्न नेतृत्वलाई आग्रहसमेत गर्नुभयो । पार्टीभित्र मनोनीत गर्दा योग्य र सक्षम व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
शेखर कोइरालाको सम्बोधन
साथीहरू,
नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम लागेको छैन । पार्टीको १४ औं महाधिवेशनले केही साथीहरुलाई महत्वपूर्ण जिम्मेवारीमा पुर्याएको छ भने केही साथीहरुलाई पदीय जिम्मेवारीबाट बाहिर राखेको छ ।
१) संगठन भित्रको जिम्मेवारी पाउनु भएका साथीहरुलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूले मात्र आशा र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरुको गतिविधिलाई हेरिरहेका छन् । त्यसकारण हामी अग्नि परीक्षामा छौँ ।
२) हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ । अहिले पार्टी संगठन भित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुदैन तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरूलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ । हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगत रुपमा अगाडि बढोस् भन्ने चाहन्छौँ । सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौं, भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनु पर्छ । पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरू हाम्रा लागि असहज हुन सक्छन् । हाम्रो निर्णय प्रक्रियाले पार्टीमा उर्जाको संचार गर्न नसके कांग्रेस शिथिल हुनसक्छ ।
३) पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के ‘मापदण्ड’ अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौँ । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।
४) सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?
मलाई थाहा छ, हामी पार्टीको निर्णय गर्ने ठाँउमा प्रभावकारी हुन सक्दैनौं होला तर पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौँ । यी विषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने ? मलाई लाग्छ हामी सक्छौं ।
साथीहरू,
हाम्रा अगाडिका बाटाहरु सहज छैनन, तीन तहको निर्वाचन हाम्रो सामु छ । कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरी साथीहरु सामु जानेछौं । कांग्रेस एकताको सन्देश र रुपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौं । हामी थाक्ने छैनौं र विश्राम लिने छैनौं । हामी कुनै पनि कार्यकर्ता साथीहरुको शिर झुक्न दिने छैनौं र निराश हुन दिने छैनौं ।
कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहने छौँ । तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्ध छौं ।
जय नेपाल
डा. शेखर कोइराला
२१ पौष २०७८
