काठमाडौँ, २० पुस ।राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ ।

आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि ४३ उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो । उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो ।एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ । सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मेदवार उठाएका छन् । काँग्रेसले ६ सिट लिएको छ भने माओवादी र एकीकृत समाजवादीले ५/५ सिट पाएका छन् । जसपाले २ र राजमोले एक सिटमा तालमेल गरेका छन् ।लोकतान्त्रिक समाजवादी पार्टीले १ र नेपाल मजदुर किसान पार्टीले दुई सिटमा उम्मेदवार उठाएका छन् ।

आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर