काठमाडौँ, १२ मङ्सिर । नेपाली कांगे्रस दाङ जिल्लाको सभापतिमा शङ्करप्रसाद डाँगी निर्वाचित हुनुभएको छ ।
शनिबार भएको निर्वाचनमा डाँगीले ७७६ र उहाँको निकटतम प्रतिद्वन्दी भूपबहादुर डाँगीले ५४५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, जानकीलाल बस्नेतले ४७१ र कमलकिशोर घिमिरेले ३१५ मत प्राप्त गर्नुभएको थियो । प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत प्राप्त हुन नसकेपछि सभापति पदका लागि आज आइतबार पुनः निर्वाचन हुने भनिएको भए पनि भूपबहादुर र शङ्करबीच भएको सहमतिपश्चात् शङ्कर जिल्ला सभापति हुनुभएको हो ।
भूपेन्द्रबहादुरले शङ्करलाई सभापतिमा समर्थन गरेपछि शङ्करलाई सभापति घोषणा गरिएको जिल्ला निर्वाचन समिति दाङका प्रवक्ता युवराज बस्नेतले जानकारी दिनुभयो । तेह्रौँ महाधिवेशनमा लोकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका डाँगी यसपालिको अधिवेशनमा सभापतिका रूपमा निर्वाचित हुनु भएको हो ।
विसं २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका डाँगी २०५७ सालमा नेविसङ्घ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसक्नुभएको छ । विसं २०५९ मा नेविसङ्घको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जोड्न उहाँ सफल हुनुभएको थियो ।
त्यसैगरी, उपसभापतिमा गिरीराज सुवेदीले ९१३ र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रत्याशीहरु एकराज शर्माले २१०, प्रदीप खड्काले ३४९, बुद्धिप्रकाश चौधरीले ८४१, मिनकेतन चौधरीले ६९४ र यज्ञबहादुर वलीले १२५ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
त्यस्तै, सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी निर्वाचित हुनुभएको छ । लम्सालले एक हजार पाँच र योगीले एक हजार १५७ मत प्राप्त गर्नुभएको छ । सहसचिव पदमा राजु आचार्यले एक हजार ५२ र सुबोधकुमार डाँगीले एक हजार ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । अन्य पदको भने अहिले मत गणना सुरु भएको छ ।
जिल्लामा पार्टीका दुई हजार एक सय ९२ मतदाता रहेकामा शनिबार भएको मतदानमा दुई हजार एक सय ३८ मत खसेको थियो ।
काभ्रेपलाञ्चोकः–यस्तै काभ्रेपलाञ्चोकमा भएको अधिवेशनमा जिल्ला सभापति पदमा तीर्थ लामा अधिक मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँले प्रतिस्पर्धी अच्युत पौडेललाई ८७६ मतान्तरले पराजित गर्नुभएको हो । लामाले प्रतिस्पर्धीभन्दा दोब्बर बढी एक हजार ६४६ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा लामाको समूह नै विजयी भएको हो । पार्टीको जिल्ला समितिको नयाँ नेतृत्वका लागि शुक्रबार बनेपामा भएको मतदानमा कूल दुई हजार ५४४ प्रतिनिधिमध्ये दुई हजार ४६८ जनाले मतदान गरेकोे निर्वाचन समितिले जनाएको छ ।
बिजयीहरूमध्ये उपसभापतिमा रमेशप्रसाद न्यौपानेले एक हजार ५२३ र ठाकुरप्रसाद न्यौपानेले एक हजार ४००, सचिवमा गुणराज मोक्तानले एक हजार ४२० र माधवप्रसाद ढकालले एक हजार ४१० तथा सहसचिवमा समीर ब्याञ्जु श्रेष्ठले एक हजार ४४५ र रवीन्द्रनाथ सिग्देलले एक हजार ४१९ मत प्राप्त गर्नुभएको थियोे ।
यसैगरी खुला जिल्ला सदस्य पदमा यादवप्रसाद सापकोटा, बद्रीप्रसाद खकुरेल, स्थानीय तहतर्फबाट सदस्यमा अप्सरा ढुङ्गाना ९सिपखान० टुल्कु लामा, दीपेन्द्र पौडेल, सनिता न्यौपाने बजगार्इं , बलराम कोइराला, रामकृष्ण पोखरेल, सीता खनाल, कुवेर सापकोटा, विश्वराम खड्का, अनिता थापा कार्की, भोलाप्रसाद भट्टराई, हरिश्चन्द्र अधिकारी, राधिका श्रेष्ठ तिमल्सिना, रामकृष्ण चापागाईं, वेदप्रसाद न्यौपाने, इन्दिरा बुढाथोकी, चेतबहादुर लामा, इन्द्रमाया लामा, हिरा तामाङ, दुर्गाप्रसाद अधिकारी, सरिता लामिछाने लामा, चित्रबहादुर गोले, रिता रुम्बा लामा कमलराज लामा, लक्ष्मी घिसिङ लामा, कृष्णबहादुर लामा र सावित्री माझी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
इलाम इलाम जिल्ला सभापतिमा युवा नेता डम्बर खड्का विजयी बन्नुभएको छ । अर्का प्रत्यासी भेषराज आचार्यलाई १६० मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको हो । प्राप्त मतपरिणाम अनुसार खड्काले ९३५ मत र आचार्यले ७७५ मत मात्र पाउनुभएको थियो ।
सभापतिमा खड्का निर्वाचित हुँदा अन्य पद भने मिश्रित बनेको छ । सो क्रममा उपसभापति पदमा आचार्य पक्षका खगेन्द्र देवान र विष्णु लिम्बू दाहाल निर्वाचित हुनुभएको छ ।
सचिव र सहसचिव पदमा आचार्य र खड्का पक्षका एक÷एकजना निर्वाचित हुनुभएको छ । आचार्यको समूहबाट सचिवमा पूर्णप्रसाद गौतम र खड्का समूहका निरोज खड्गी विजयी हुनुभएको हो ।
सहसचिवमा देवेन्द्र सुवेदी, डालाकुमारी कार्की विजयी बन्नुभयो । एक हजार ७९५ मतदाता रहेकामा एक हजार ७३२ मत खसेको र छ वटा मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
