काठमाडौ, १ मंसिर । आर्जेन्टिनामा एउटी महिलाको शरीरबाट उपचार वा औषधि प्रयोग नगरीकनै एचआईभी निर्मूल भएको देखिएको छ।
यो विज्ञहरूको जानकारीमा आएको यस किसिमको दोस्रो घटना हो।
ती महिलाको शरीरको प्रतिरक्षा क्षमताले भाइरसलाई निर्मूल पारेको हुनसक्ने चिकित्सकहरूको धारणा छ।
एक अर्बभन्दा बढी कोषमा गरिएका परीक्षणमा उनको शरीरमा एचआईभी सङ्क्रमणको कुनै सङ्केत देखा नपरेको आर्काइभ्स अफ इन्टर्नल मेडिसिनले जनाएको छ।
त्यो प्रक्रिया पत्ता लगाउन सकियो भने एचआईभी निर्मूल पार्न वा प्रभावकारी उपचार गर्न सकिने विज्ञहरू बताउँछन्।
अहिले पत्ता लागेको तथ्यले केही मानिसमा एचआईभीलाई पराजित गर्न सक्ने जन्मजात क्षमता हुन्छ भन्ने प्रमाणित गर्छ।
कसैकसैको शरीरमा एचआईभी सङ्क्रमण हुन नदिने वंशाणु वा जीनहरू हुन्छन्।
नाम उल्लेख गर्न नचाहने तर एस्पेरान्जा पेशन्ट उपनाम दिइकी ती महिलासहित अरूलाई एचआईभी सर्ने तर पछि हराउने गरेको देखिएको छ।
एचआईभी भएका अधिकांश सङ्क्रमितलाई आजीवन एन्टिरेट्रोभाइरल थेरपी (एआरटी)आवश्यक हुन्छ।
औषधि लिन छोडेको अवस्थामा निष्क्रिय बसेको भाइरस जाग्न सक्छ र फेरि समस्या हुन सक्छ।
तथापि केही वर्षयता एलिट कन्ट्रोलरहरू फेला परेको विवरणहरू आएका छन्।
तिनको शरीरले औषधि नलिई तर अरू केही सहयोग लिएर भाइरसलाई दमन गर्न सक्छ।
क्यान्सरको उपचारका लागि लन्डनका एडम कास्टिलेजोले एक दाताबाट स्टेम सेल लिए। त्यसपछि उनले एचआईभीका लागि दैनिक छुट्टै औषधि लिनुपरेन।
क्यान्सरको उपचारको क्रममा उनको शरीरमा एचआईभीबाट सङ्क्रमित कोषहरू हराए र नयाँ कोषहरू बने।
भाग्यवश उनलाई स्टेम सेल दिने व्यक्तिको शरीरमा एचआईभी सर्न नदिने जीन थियो। केवल एक प्रतिशत मानिसमा त्यस्तो आनुवंशिक क्षमता हुन्छ।
तर कास्टालेजोलाई त्यसबाट कहिलेसम्म लाभ पुग्छ भन्ने कुरा चाहिँ स्पष्ट भइसकेको छैन।

एचआईभी सङ्क्रमण हुँदा कोष यस्तो देखिन्छ
एस्पेरान्जा बिरामीको शरीरमा आठ वर्षभन्दा पहिलादेखि एचआईभी भेटिएको छैन।
सान फ्रान्सिस्कोकी लोरीन विलन्बर्गलाई पनि आफ्नै प्रतिरक्षा प्रणालीले एचआईभीबाट निको बनाइसकेको जस्तो देखिन्छ। फङ्शनल क्योर भनिने यस्तो स्थितिमा भाइरस पूर्णतः निर्मूल नभइसकेको भए पनि उपचारबिना नै पूर्ण नियन्त्रणमा हुन्छ।
यसले अरू बिरामीमा स्टेरलाइजिङ क्योर अर्थात् सङ्ख्या विस्तार गर्न सक्षम एचआईभी भाइरसलाई शरीरबाट पूर्णतः निर्मूल हुने अवस्था सिर्जना हुने आशा जगाइदिन्छ।
यो शोधको नेतृत्व गरेकी डा सू यू भन्नुहुन्छ, आफैँ त्यसो गर्न असक्षम मानिसका लागि स्टेरलाइजिङ उपचार उपलब्ध गराउन कुनै व्यावहारिक मार्ग हुनसक्छ।
उहाँ हार्भड यूनिभर्सिटी, रेगन इन्स्टिट्यूट अफ म्यासचूसिट्स जेनरल हस्पिटल र म्यासचूसिट्स इन्स्टिट्यूट अफ टेक्नोलजीमा कार्यरत हुनुहुन्छ ।
एआरटी लिइरहेका मानिसमा खोपबाट यस किसिमको प्रतिरक्षा विधि समाविष्ट गर्ने सम्भावनाबारे हामी विचार गरिरहेका छौँ। उनीहरूको प्रतिरक्षा प्रणालीलाई एआरटीबिनै भाइरसलाई नियन्त्रण गर्न सिकाउने उद्देश्यसहित।
कोही व्यक्ति एचआईभीबाट साँच्चै मुक्त भएको भन्न असम्भव भएको धारणा यूनिभर्सिटी अफ अक्सफर्डका प्राध्यापक जोन फ्रेटरको छ।
तर अहिले उपलब्ध प्रविधिबाट गर्न सकिने जति सबै काम शोधकर्ताहरूले गरेको उहाँले बीबीसी न्यूजलाई बताउनुभयो ।
मुख्य प्रश्न के हो भने यी बिरामी आफैँ निको भएकी हुन् वा उनमा कुनै किसिमको अपूरो सङ्क्रमण थियो, उहाँले भन्नुभयो ।
ती महिलाको शरीरमा पहिला सङ्क्रमण भएको सङ्केत उनको प्रतिरक्षा प्रणालीले स्पष्ट रूपमा देखाएकाले एचआईभी सरेको थिएन कि भन्ने शङ्का नरहेको उहाँको भनाइ छ।
जे भएको भए पनि एचआईभीको उपचार खोजी गर्न धेरै कुरा सिकाउने त्यस्ता अरू बिरामी पनि हुनसक्छन्।
इम्पेरीअल कलेज लन्डनमा कार्यरत एचआईभी औषधिविज्ञ प्राध्यापक सारा फिड्लरका अनुसार अहिले गरिएको अनुसन्धानले विकासको क्रममा रहेका प्रतिरक्षा उपचारविधिलाई सहयोग पुग्नेछ।
कार्डिफ यूनिभर्सिटी मेडिकल स्कूलका डा. एन्ड्रू फ्रीडम्यान एचआईभी उपचारका लागि अहिले उपलब्ध औषधिहरू अत्यन्त प्रभावकारी भएको बताउँछन्।
नयाँ उपचारविधि खोजिए पनि विश्वभरि एआरटीको पहुँच बढाउनुलाई तत्कालै प्राथमिकतामा राख्नु महत्त्वपूर्ण भएको उहाँको धारणा छ। बीबीसी
