दमौली, १ मङ्सिर ।  तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा विकसित हुँदै गएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले तनहुँका अलवा चितवन, गोरखा, लमजुङ, नवलपुर, काठमाडौँलगायतका जिल्लाबाट भक्तजन यहाँ आउने गरेको जानकारी दिनुभयो । “थानीमाईमा पूजाअर्चना गरे मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ, त्यही कारण आज यस ठाउँ धार्मिक आस्थाको केन्द्रका रूपमा विकास भइरहेको छ”, थापाले भन्नुभयो ।

प्रत्येक वर्ष कात्तिकको मङ्गलबार थानीमाई मन्दिरमा भक्तजनले फूलको डोली चढाउने गर्दछन् । कात्तिकको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाइ छ । यस वर्ष कात्तिकमा मन्दिरमा २२५ फूलको डोली भित्रिएको छ । कात्तिकको मङ्गलबार मात्रै मन्दिरमा करिब २० हजार भक्तजनले पूजाअर्चना गरेका छन् । मन्दिरमा रातभर जागाराम बसेर बत्ती बाल्ने प्रचलन छ । कात्तिकको पहिलो मङ्गलबार १८, दोस्रो मङ्गलबार ५५, तेस्रो मङ्गलबार २८, चौथो मङ्गलबार ९२ र पाँचौँ मङ्गलबार ३२ फूलको डोली भित्रिएको छ ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा डोली चढाउने परम्परा छ । थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघमा समेत भक्तजनको भीड लाग्छ । डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौँबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

पछिल्ला वर्षहरूमा थानीमाई पुग्न सडक निर्माण गरिएको छ । सडक खुलेपछि भक्तजनको सङ्ख्या बढ्न थालेको थापाले बताउनुभयो । भक्तजन फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।

समुद्र सतहबाट एक हजार २०० मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाखको लागतमा मन्दिर पुनःनिर्माण गरिएको हो ।

विसं १८२५ देखि उक्त मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीयवासी बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती छ । सोही समयदेखि उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर