काठमाडौँ, १२ फागुन ।   सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई आज बदर गर्ने फैसला गरेसँगै नेपाली कांग्रेसका नेताहरुले पनि आ–आफ्ना प्रतिक्रिया दिएका छन् ।

कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले विज्ञप्तिमार्फत सर्वोच्चको स्वागतयोग्य भएको र यसले स्वतन्त्र न्यायपालिका, संवैधानिक सर्वोच्चता, विधिको शासन, लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास गर्ने आमनेपाली जनताको भरोसा टुट्नबाट जोगाएको उल्लेख गर्नुभएको छ । आगामी दिनमा पनि देश र जनताको आस्थाको केन्द्रबिन्दुको रुपमा न्यायपालिकाको गरिमा यसैगरी कायम रहनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विज्ञप्तिमार्फत सर्वोच्च अदालतले संविधानको मर्म र भावनाअनुसार निर्णय गरेको र फेरि एकपटक विधिको शासनको जित भएको उल्लेख गर्नुभएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा संविधान रक्षा गर्दै जनताको जित भएको बताउनुभएको छ । युवा नेता गगनकुमार थापाले पनि सामाजिक सञ्जालमार्फत अदालतले बिना भय र दबाब, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर