अमेरिका, ३० कात्तिक । अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले खतरनाक र गैरजिम्मेवारपूर्ण क्षेप्यास्त्र परीक्षण गरेको भन्दै त्यसको निन्दा गरेको छ।

उक्त परीक्षणका क्रममा एउटा रुसी भूउपग्रह ध्वस्त भएको छ।

त्यसले अन्तरिक्ष केन्द्रमा अवशेषहरू उत्पन्न गर्दा त्यहाँ रहेका चालक दलका सदस्यहरूले पृथ्वीमा अवतरण हुने यानमा शरण लिनु परेको बताइएको छ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा हाल सात जना चालक दलका सदस्यहरू रहेका छन्।

त्यसमध्ये चार जना अमेरिकी, एक जना जर्मन र दुईजना रुसी रहेका छन्।

अन्तरिक्ष केन्द्रले पृथ्वीभन्दा करिब ४२० किलोमिटरको उचाइमा परिक्रमा गर्ने गर्छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भन्नुभयो, रुसी सङ्घले लापरबाहीका साथ आफ्नै एउटा भूउपग्रहमाथि एउटा एन्टीस्याटेलाइट क्षेप्यास्त्र प्रहार गरेको छ।

उहाँले उक्त परीक्षणले हालसम्म सहजै पत्ता लगाउन सकिने एक हजार पाँच सय टुक्रा अवशेषहरू उत्पन्न गरेको र त्यसभन्दा साना सयौँ हजार त्यस्ता अवशेषहरू उत्पन्न भएको बताउनुभयो ।

ती अवशेषहरूका कारण सबै देशहरूलाई अहित हुने उहाँको भनाइ छ।

रुसी अन्तरिक्ष एजेन्सीले चाहिँ उक्त घटनालाई कम महत्त्वपूर्ण भनेको छ।

उक्त एजेन्सीले ट्वीट गर्दै एउटा मापदण्ड अनुसार चालक दलका सदस्यहरू सुरक्षित स्थानमा सरेको बताएको छ।

अवशेषहरू कुनै पनि घटनाविनै पार भए पनि अहिले त्यसले विवाद निम्त्याएको हो।

ती अवशेषहरू रुसी भूउपग्रह कोस्मोस्१४०८ बाट आएका जस्तो देखिएको छ।

उक्त जासुसी भूउपग्रह सन् १९८२ मा अन्तरिक्षमा पठाइएको थियो र त्यसको तौल एक टनभन्दा बढी थियो।

तर उसले केही वर्षअघि नै काम गर्न बन्द गरेको थियो।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर