काठमाडौँ, ११ कात्तिक । नेकपा(एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो । बैठकबाट भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न लागिएको हो ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र पालिका कमिटीको समीक्षा तथा महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तथा कार्यतालिकाका विषयमा छलफल हुने छ । एमालेले यही कात्तिक ६ गते वडा कमिटी र ९ गते पालिकास्तरको अधिवेशन सकेको छ । एमालेको १० औँ महाधिवेशन यही मङ्सिर १० देखि १३ गतेसम्म चितवनमा हुँदैछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्दै आइरहेको छ। संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ ।
