काठमाडौँ, ५ कात्तिक । आयुर्वेद चिकित्सक तथा साहित्यकार डा शेषराज आचार्यको ७८ वर्षको उमेरमा कोरोनाका कारण निधन भएको छ । विसं २००० मा तनहुँमा जन्मनुभएका आचार्यले आयुर्वेदमा आचार्यसम्मको अध्ययन गर्नुभएको थियो । एकचालीस वर्ष नेपाल सरकारको सेवामा बिताउनुभएका उहाँ आयुर्वेदका विज्ञ हुनुहुन्थ्यो । उहाँले नरदेवी आयुर्वेद औषधालय र आयुर्वेद विभागमा निर्देशक पदमा रही कार्य गर्नुभएको थियो । यसैगरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशकका रूपमा पनि उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
कोरोना सङ्क्रमित भई त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका आचार्यको आज दिउँसो देहावसान भएको उहाँका भाइ डा व्रतराज आचार्यले जानकारी दिनुभयो । स्वर्गीय आचार्यका श्रीमती डा कादम्बरी आचार्य, चार छोरा र दुई छोरी हुनुहुन्छ ।
उहाँको आजै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । जीवनको उत्तराद्र्धमा काव्यसाधनामा रमाउने गर्नुहुन्थ्यो । उहाँका हिम हिमा खण्डकाव्य, शब्द तरङ्गिणी र अतीतका स्मृतिहरू कविता सङ्ग्रह तथा सचित्र जडीबुटी सङ्ग्रह प्रकाशित छन् ।
–––
