काठमाडौं, ५ कात्तिक । प्रधानन्यायाधीशबाट न्यायिक मूल्य र मान्यता समाप्त हुने गम्भीर खतरा पैदा भएको आरोप पूर्वन्यायाधीश फोरमले लगाएको छ ।
फोरमले आज एक विज्ञप्ति प्रकाशित गर्दै सो आरोप लगाएको हो ।
संवैधानिक प्रावधान भन्दामाथि रहेको प्राकृतिक न्यायको सिद्धान्तको परिपालना गर्नुको सट्टा प्रधानन्यायाधीश विपक्षी बनाइएको मुद्दामा आफै न्यायकर्ता हुने गरी संवैधानिक इजलासमा आफै सामेल हुने अभिरुचिले न्यायिक मूल्य र मान्यता समाप्त हुने गम्भीर खतरा उत्पन्न भएको कुरा सो विज्ञप्तिमा जनाइएको छ ।
सर्वोच्च अदालतद्वारा सर्वोच्च अदालत उपर नै अन्तरिम आदेश जारी हुनु, न्यायिक मान्यता विपरीतको त्रुटिपूर्ण अन्तरिम आदेश बेलैमा सच्याउन सकिने प्रक्रिया र पद्धति अवलम्बन नहुनु, वार र बेन्चबीच सम्पन्न सहमति विपरीत इजलास तोकिनुजस्ता क्रियाकलापले न्यायिक नेतृत्वप्रति जनमानसमा शङ्का उत्पन्न गराएको छ, विज्ञप्तिमा भनिएको छ । वर्तमान न्यायिक नेतृत्वको संवैधानिक दायित्व निर्वाहमा नै गम्भीर शङ्का उत्पन्न भएकोसमेत विज्ञप्तिमा उल्लेख छ ।
‘प्रधानन्यायाधीशबाट न्यायपालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशका सम्बन्धमा उठेका सम्पूर्ण विवादहरुको निष्पक्ष छानविनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुनका लागि समेत आह्वान गरिएको छ ।
न्यायपालिका जोगाउने अन्तिम दायित्व स्वयं न्यायाधीशहरुको नै हो भनी हामी पूर्व न्यायाधीशहरू स्मरण गराउन चाहन्छौँ भन्दै विज्ञप्तिमा न्यायपालिकालाई विवादित नेतृत्वबाट जोगाउनको लागि अग्रसर हुन कार्यरत न्यायाधीशहरु, कानुन व्यवसायीहरु एवं न्यायका सम्पूर्ण उपभोक्ताहरु र समग्र चेतनशील नेपालीहरुमा आह्वान गरिएको छ ।
