अमेरिका, ९ फागुन । अमेरिकाको डेन्भर सहरमा आकाशमा उडिरहेको एउटा बोइङ जेटबाट बिग्रिएको इन्जिनका भग्नावशेषहरू आवासीय क्षेत्रमा खसेका छन् ।

उड्ने बित्तिकै उक्त विमानको एउटा इन्जिन बिग्रिएको थियो ।

तर दुई सय ३१ जना यात्रु र चालकदलका १० सदस्यसहित उडेको बोइङ ७७७ विमान सुरक्षित रूपमा डेन्भर विमानस्थलमा अवतरण गर्न सफल भएको थियो । कोही घाइते भएका खबर छैन ।

विमानमा रहेका यात्रुहरूले उडेको केही बेरमा एउटा ठूलो विस्फोटन आफूहरूले सुनेको बताएका छन् ।

यूनाइटेड एअरलाइन्सको उक्त विमान होनोलुलुतर्फ जाने क्रममा दायाँतर्फको इन्जिनमा समस्या देखिएको अमेरिकाको सङ्घीय उड्डयन निकाय एफएएले जनाएको छ ।

विमानमा रहेका एक यात्रुले एपी समाचार संस्थालाई बताए अनुसार विस्फोटनका बेला विमान चालकले एउटा सूचना दिइरहेका थिए ।

डेभिड डेलुसियाले भने विमान डरलाग्दो गरी हल्लिन थाल्यो र हामीले उचाइ गुमाउन थाल्यौँ अनि हामी तल झर्न थाल्यौँ ।

उक्त घटना स्थानीय समयानुसार शनिवार दिउँसो १ बजेभन्दा केही बेरपछि भएको हो ।
ब्रूमफील्ड प्रहरीले स्थानीय बासिन्दाहरूलाई सो विमानको भग्नावशेषहरू नछुन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर