काभे्रपलाञ्चोक, २८ असोज । सोह्र वर्षमा कस्ता चाडपर्व कति बिते शय्यामा सुतिरहने बनेपाका मुकेशलाई थाहा छैन । अर्धचेत अवस्थाका मुकेश चाडपर्वमा घर नजिकैको मावलीघर नटेकेको पनि उत्तिकै वर्ष बितिसकेका छन् ।

दोस्रो जनआन्दोलनमा बायाँ कञ्चटमा गोली लागेर गम्भीर घाइते छोरा मुकेशको स्वास्थ्य अवस्था राम्रो होला, बाबा–आमा भनेर बोलाउला भन्ने आशामा उनको स्याहार सुसारमा दिनरात नभनेको कायस्थ परिवारको आशा मरेको छैन । “छोरा ठीक होला भन्ने आशा अझै मरेको छैन, तर मुकेश तीन वर्षदेखि दुब्लाउँदै गएको छ, पहिले जस्तो हाँस्न, बोल्न छाडेको छ, पीरमाथि पीर थपिरहेको छ”, आमा मीराले भन्नुभयो । कसैले नाम लिएर बोलाउँदा ‘हँ ह, माँ’ भनेर बोल्नसक्ने मुकेश हाल बोल्न सक्नुभएको छैन भने उहाँको शरीरसमेत दुब्लाउँदै गएको छ ।

परिवारका अनुसार मुकेश अहिले ३१ वर्षको हुनुभयो । लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकोमा हाल पेटमा पाइपद्वारा खानेकुरा दिइएको छ । “मुकेशले मुखबाट नखाएको पनि तीन वर्ष भइसक्यो”, बाबु कृष्णमानले भन्नुभयो । मुकेश हाल दायाँ हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्नुहुन्छ ।

लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय मुकेश बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते हुनुभएको थियो । त्यस दिनदखि उहाँको होस् अझै खुल्न सकेको छैन भने बायाँ हात राम्रोसँग चल्दैन । गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो छ ।

छोराको विषयमा कुराकानी गर्दा मुकेशको बाबुआमा निकैबेर भक्कानिनुहुन्छ । “दसैँ–तिहारमा छिमेकका घरमा झिलीमिली गर्दै, परिवार र आफन्तसँग खुसियाली बाँडेको देख्दा मन निकै पोल्छ, कतै मेरो छोरोले आमा भन्देओस्”, मीरा दुखेसो पोख्नुहुन्छ “दसैँ नजिकिएको बेला मुकेश घरको छतमा चङ्गा उडाउँदै होला भन्ने झस्कना पस्छ ।” मुकेश कायस्थ परिवारको एक्ला छोरा हुनुहुन्छ ।

“परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, आफैँ मनन् गर्नस् त ?”, बाबु कृष्णमान प्रतिप्रश्न गर्नुहुन्छ ।

सोह्र वर्षदेखि अर्धचेत अवस्थाका छोरा मुकेशलाई सुतिरहेको हेरेर उहाँकी आमा मीरा भविष्यबारे सधैँ चिन्तित हुनु त दैनिकी नै भयो । अझै पनि छोराले नयाँ लुगामा सजिएर आमाबाबुसँग हाँसखेल गरेको देख्न पाउने, नपाउनेमा मीरा शङ्का गर्नुहुन्छ । “दसैँ–तिहारमा मुकेशलाई ओछ्यानमै टीका लगाइदिनुपर्दाको क्षण कम्ती पीडादायक हुन्न”, मीराले भन्ुनभयो । उहाँका अनुसार आमा वा बाबुमध्ये कोही केही समय नजिक नभए मुकेश रुने गर्नुहुन्छ ।

कायस्थ दम्पत्ति मुकेशलाई हँसाउन खोज्छन् तर मुकेश बाबुआमाले खोजेको हाँसो दिन सक्नुहुन्न । “हातगोडा नचले पनि कुरा गर्छ कि भन्दै बेलाबेलामा बोलाउँछु, मुकेश हाँस्न खोज्छ अनि हँ मात्रै गर्छ”, कृष्णमानले पनि आँसु झार्दै पीडा पोख्नुभयो । आन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलको कक्षा आठमा पढ्दै हुनुहुन्थ्यो ।

मुकेशको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि भन्ने आशामा छ कायस्थ परिवार । तर, देश–विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकोमा मर्माहत हुनुभएको छ मुकेशको बाुबुआमा । हाल मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्यबारे हेरिरहनुभएको छ । टाउकोमा जम्ने पानी निस्कने पाइप समयसमयमा बन्द हुने हुँदा समस्या भइरहेको चिकित्सकलाई उद्धृत गर्दै मीराले भन्नुभयो ।

आन्दोलनका घाइते र शहीदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पत्तिको छ । कृष्णमानले भन्नुभयो, “आन्दोलनका घाइते र शहीदलाई सरकारले कहिल्यै भुल्नुहुन्न ।” मुकेशको नाममा बनेपामा पुनःस्थापना केन्द्र स्थापना गर्नुपर्ने उहाँहरुको चाहना छ । तत्कालीन सरकारले मुकेशको उपचारका लागि रु १६ लाख सहयोग तथा बैंकको रु सात लाख ऋण मिनाहा गरिदिएको थियो । सरकारद्वारा जीवन–निर्वाह भत्तास्वरूप मासिक रु १६ हजार उपलब्ध हुँदै आएको छ भने एक स्वास्थ्यकर्मीलाई हेरचाहका लागि खटाइएको छ । मुकेशको नाममा बनेपामा प्रतिष्ठान पनि स्थापना गरिएको छ । प्रतिष्ठानले मुकेशका नाममा पुनःस्थापना केन्द्रका लागि प्रक्रिया थालिने जनाएको छ ।

दोस्रो अनआन्दोलनमा काभे्रपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनका क्रममा नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भीमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा जोरपाटीमा मारिनुभएको थियो । उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर