काठमाडौँ, ९ फागुन । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका नवनिर्वाचित अध्यक्ष बचनबहादुर सिंहले ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा सङ्घ’ भन्ने मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सदस्य विस्तार गर्ने बताउनुभयो ।
उहाँले चैतमसान्तभित्र ७७ वटा जिल्ला कमिटी, १६५ वटा सङ्घीय निर्वाचन क्षेत्र समन्वय कमिटी, ३३० प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, ७५३ स्थानीय तह कमिटी र छ हजार ७४३ वडा कमिटी गठन गर्ने समेत जानकारी दिनुभयो ।
साइबर सेना बनाइने
उहाँले सबै कमिटीमा साइबर सेना गठन गर्नेसमेत जानकारी दिनुभयो । मुलुकको स्वाधीनता तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै कमिटीमा साइबर सेना बनाउन थालिएको बताउनुभयो । यसअघि तत्कालीन नेकपा (एमाले)को युवा सङ्घले युथ फोर्स गठन गरेको थियो । बैठकले सरकारले गरेको लोकप्रिय काम र असाधारण उपलब्धिलाई जनताबीचमा पुर्याउन सङ्घका नेता कार्यकतालाई विशेष अभियानका साथ परिचालन गर्ने निर्णय गरेको छ ।