बागलुङ, ८ फागुन । रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङले विभिन्न विधामा पाँच लेखकलाई शुक्रबार पुरस्कृत गरेको छ ।
गुठीले हरेक दुई÷दुई वर्षमा प्रदान गर्ने रु ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’बाट यो वर्ष लेखक चन्द्रप्रकाश बानियाँ पुरस्कृत हुनुभएको छ ।

निबन्ध कृति ‘भौज्याहा’का लागि उहाँ पुरस्कृत हुनुभएको हो । म्याग्दीको बेनी नगरपालिका–५ पुलाका बानियाँ यो वर्षको ‘मदन पुरस्कार’ विजेतासमेत हुनुहुन्छ ।
यस्तै ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ लेखक डा.प्रमोद ढकालले प्राप्त गर्नुभएको छ । रु २५ हजार राशिको सो पुरस्कार निबन्ध कृति ‘पूर्वीय दर्शनको पुर्नव्याख्या’का लागि उहाँलाई प्रदान गरिएको गुठीले जनाएको छ ।

गुठीले नै प्रदान गर्ने ‘धवलागिरि प्रतिभा पुरस्कार’ लेखक महेश्वर पन्तलाई प्रदान गरिएको छ ।
उपन्यास कृति ‘फुर्लुङ’का लागि उहाँ पुरस्कृत हुनुभएको हो । पुरस्कारको राशि रु १५ हजार रहेको छ ।
गुठीमा स्थापित ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ प्रा डा रमेशचन्द्र अधिकारीले प्राप्त गर्नुभएको छ ।

‘जीवन दर्शनको रुपरेखा’ कृतिका लागि अधिकारी पुरस्कृत हुनुभएको हो ।
सो पुरस्कारको राशि रु २५ हजार रहेको छ । यस्तै गुठीद्वारा सञ्चालित ‘गुरु गणेश–विष्णु स्मृति पुरस्कार’ लेखक मीनराज वसन्तलाई प्रदान गरिएको छ ।
उपन्यास कृति ‘पिपिरी’का लागि लेखक वसन्त पुरस्कृत हुनुभएको हो । उक्त पुरस्कारको राशि रु १२ हजार रहेको छ ।

यहाँ आयोजित समारोहमा वरिष्ठ अधिवक्ता पदमनाथ शर्मा र गुठीका संस्थापक÷संरक्षक प्रेम छोटाले लेखकलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
पुरस्कृत कृतिमाथि धौलागिरि बहुमुखी क्याम्पसका प्रा डा दिनबहादुर थापाले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । नेपाली भाषा र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका कवि, लेखकलाई पुरस्कृत गर्ने गरिएको संस्थापक÷संरक्षक छोटाले बताउनुभयो ।
पुरस्कार ग्रहणपछि बोल्दै लेखकले आफूहरुको सिर्जनाकर्ममा ऊर्जा थपिएको प्रतिक्रिया दिएका छन् ।
साहित्यकार छोटाले आफ्नी दिवङ्गत आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ सालमा पुरस्कार गुठी स्थापना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर