काठमाडौं, फागुन ७ गते । जननायक बीपी कोइराला स्मृति ट्रष्टले बीपी कोइराला साहित्य सम्मानबाट इतिहासकार ज्ञानमणि नेपाल र बीपी कोइराला प्रजातन्त्र सेनानी सम्मानबाट वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक होमनाथ दाहाललाई सम्मान गरेको छ ।

शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि दमनाथ ढुंगानाले उहाँहरु दुवै जनालाई सम्मान गर्नुभएको हो । साहित्य सम्मानको राशी एक लाख रुपियाँ रहेको छ भने प्रजातन्त्र सेनानी सम्मानको राशी ५१ हजार रहेको छ । सम्मान कार्यक्रममा  ढुंगानाले लोकतन्त्र अहिले पनि खतरामा रहेको छ , किन र कसका कारणले भन्ने प्रश्न गर्दै यसको मिमांशा हुन जरुरी छ भन्नुभयो । उहाँले मुलुकले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति त्यागेकाले नै यो अवस्था आएको औल्याउदै सबै किसिमका परिर्वनको आधार नै सात सालको परिवर्तन भएको बताउनुभयो ।

पूर्व सभामुख समेत रहनुभएका ढुंगानाले फागुन सातको महत्वलाई घटाउन खोजिएको भन्दै आजको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व होमनाथ दाहालले प्रजातन्त्रका लागि आफ्नो ज्यान दिने योद्धाहरुको खोज र अनुसन्धान गर्ने कार्यमा ट्रष्टले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउदै नेपालको राजनीतिमा सात सालको महत्व विशिष्ट रहेको बताउनुभयो ।

अर्का सम्मानित व्यक्तित्व ज्ञानमणि नेपालले धेरै किसिमका गुण र विशेषताका कारण नै बीपी कोइराला महान बन्नु भएको हो भन्नुभयो । त्यसैगरी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बीपीका विचार र सोचका कारण नै मुलुकमा परिवर्तन संभव भएको उल्लेख गर्दै आफूले बीपीको विश्वासमा धेरै काम गरेको बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व नेपालको बारेमा वरिष्ठ साहित्यकार रमेश खकुरेल र दाहालको बारेमा समालोचक एवं राजनीतिक विश्लेषक डा तुलसीप्रसाद भट्टराईले प्रकाश पार्नुभएको थियो ।

ट्रष्टका सदस्य एवं वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतमको सभापतित्वमा आयोजित कार्यक्रममा ट्रष्टका महासचिव रामचन्द्र पोखरेल र सदस्य एवं साहित्यकार डा ज्ञानु पाण्डेले ट्रष्टको गतिविधिको बारेमा प्रकाश पार्नुभएको थियो । बीपी कोइरालको शताव्दी वर्ष अर्थात् २०७१ साल भदौ २४ गतेदेखि उक्त सम्मान प्रदान गर्न थालिएको ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय