काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम पश्चात काम चलाउ स्थितिमा पुगेको सरकारले प्रदेश प्रमुख नियुक्ति र बर्खास्ती गर्नु गलत भएको वताएको छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति सार्वजनिक गर्दै सो धारणा व्यक्त गरेको हो ।
ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त गर्नुभएको थियो ।
प्रवक्ता शर्माले विज्ञप्तिमा निर्वाचन घोषणा भएको अवस्थामा बर्खास्ती र नियुक्तितर्फ सरकार लाग्नु गलत र आपत्तिजनक भएको भन्दै सरकारको यो शैलीले प्रदेश प्रमुखको गरिमा घट्दै जाने पनि उल्लेख गरेको छ ।
अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहोर्‍याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले यस्ता कदम अविलम्ब रोक्न सरकारलाई चेतावनीसमेत दिएको छ ।
‘संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न’, विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर