काठमाडौँ, ७ असोज ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक सकिएको छ । बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गठन गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले एक अध्यक्ष, एक वरिष्ठ नेता, सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ ।

पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता छन् ।  त्यसैगरी सात जना उपाध्यक्षमा क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र जयन्ती राई रहेका छन् ।   महासचिवमा डा.बेदुराम भुसाल छन् भने तीन उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल छन् ।  चार जनाले सचिवको जिम्मेवारी पाएका छन्  जसमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री छन् ।

पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ भने ३५ सदस्यीय स्थायी कमिटी सो पार्टीले बनाएको छ । त्यस्तै ७१ सदस्यीय पोलिटब्युरो गठन गरेको सो पार्टीले जनाएको छ

बैठकले ७०१ सदस्यीय केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ । पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने छन् । केन्द्रीय सल्लाहकार र ज्येष्ठ नागरिक मञ्च गठन गरिएको सो पार्टीले जनाएको छ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाइ छलफल भएको थियो । बैठकमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सङ्गठन विस्तार, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा आवश्यक रणनीति तयार गर्नेबारे छलफल भएको केन्द्रीय सदस्य दिलुकुमारी पन्तले बताउनुभयो । नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर