काठमाडौँ, ७ असोज  ।  नेपाली कांग्रेस बनेपा नगर सभापतिमा दुई जनाले एक साताअघिदेखि सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आउँदो शनिबार हुने नगर निर्वाचनमा दुई आकाङ्क्षी वर्तमान नगरसचिव महेश कर्माचार्य र पार्टी जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आउँदो शनिबार जिल्लामा हुने नगर तथा गाउँ अधिवेशनमा सभापति पदमा दोब्बर आकाङ्क्षी देखिएका छन् । जिल्लामा छ नगर र सात गाउँपालिका छन् । अधिवेशनमा स्थानीयस्तरसम्म जिल्लामा दुई धारको प्रभाव रहेकाले सर्वसम्मत हुने अनिश्चितप्रायः देखिन्छ । यद्यपि नगर तथा गाउँ सभपातिका केही आकां्क्षी भने गत मङ्गलबार भएको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित नहुँदा उम्मेदवारीबाट विमुख भएका छन् ।

धुलिखेल नगर सभापतिमा बिदुरबहादुर बस्नेत, विमल ब्याञ्जू र विनोद गौतम, पाँचखाल नगरमा गणेश अधिकारी, हेम लामा र सुन्दर लामा, नमोबुद्ध नगरमा कुन्साङ लामा र दिनेश भुर्तेल, मण्डनदेउपुर नगरमा रामहरि सापकोटा र कश्यप पौडेल तथा पनौती नगरमा हाल एकमात्रै रामशरण भण्डारीको चर्चा छ । यस्तै रोशी गाउँपालिकामा पदम लामा, लक्ष्मी बर्तौला र हस्तबहादुर लामा, भुम्लु गाउँपालिकामा दावा लामा र तस्वीर लामा, खानीखोला गाउँपालिकामा क्षेत्र लामा, सोनाम लामा र गोपाल दर्लामी, तेमाल गाउँपालिकामा ज्ञानबहादुर लामा र सञ्जिव लामा, चौँरीदेउराली गाउँपालिकामा किशोरराज गिरी र चन्द्र लामा, महाभारत गाउँपालिकामा देवराज योञ्जन र रकमसिं घलान तथा बेथानचोक गाउँपालिकामा पे्रमबहादुर तिमल्सिना र मछिन्द्र लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्ला सभापतिमा भने आकाङ्क्षी वर्तमान सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, उपसभापति अच्युत पौडेल, सचिव दिनेश लामा, पूर्वसांसद तीर्थ लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाईँ र पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल देखिनुभएको छ । गाउँ/नगर अधिवेशनमा वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले नगर सभापतिसहित कार्यसमिति चयन गर्ने जिल्ला सचिव दिनेश लामाले जानकारी दिनुभयो । उहाँका अनुसार करिब दुई हजार ४०० प्रतिनिधि वडाबाट निर्वाचित हुनुभएको छ । समितिका अनुसार नगर तथा गाउँ निर्वाचनमा सभापतिसहित क्रियाशील सदस्यताका आधारमा समावेशी कार्यसमितिको गाउँ/नगर कार्यसमिति चयन गर्नेछ ।

गाउँ/नगर पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव तथा निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष छनोट हुनेछन् । जिल्ला समितिमा १९ हजार १० क्रियाशील सदस्य छन् । समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् ।

पार्टीको निर्वाचन कार्यतालिकाअनुसार यही असोज ९ गते गाउँ/नगर अधिवेशन हुने भएको हो । पार्टीको बुधबारको निणर्यअनुसार बाँकी प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशनलगायत माथिल्लो तहका अधिवेशन/महाधिवेशन दशैँपछि हुनेछ । यसअघि असोज १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको थियो । यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको थियो ।

काभ्रेपलाञ्चोकमा भने निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार १३५ वडामध्ये १२७ वडाको अधिवेशन सम्पन्न भएको छ । मङ्गलबार भुम्लु गाउँपालिका-२ र ४, धुलिखेल नगरपालिका-१२, बनेपा नपा-९, खानीखोला गाउँपालिका-१, पनौती नपा-१० र ११ मा विवादका कारण वडा अधिवेशन स्थगन भएको सचिव लामाले जानकारी दिनुभयो । लामाका अनुसार बनेपा-९, खानीखोली-१ तथा पनौती-१० र ११ मा बुधबार अधिवेशन सम्पन्न भएको छ भने बाँकी वडाका अधिवेशनबारे छलफल भइरहेको छ । अधिकांश वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको जनाइएको छ ।

सभापतिका आकाङ्क्षी गाउँगाउँमा

डोटी- नेपाली कांग्रेसको पार्टी सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उमेदवारका आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्लास्तरीय नेता गाउँगाउँमा पुगेका छन् । नेता गाउँमा आएका कारण यहाँका ग्रामीण क्षेत्रमा चहलपहल सुरु भएको स्थानीयवासी बताउँछन् । जिल्लामा वडा अधिवेशन सम्पन्न भएसँगै यही असोज ९ गते हुने नगर तथा पालिकाको अधिवशनका लागि भन्दै नेता गाउँगाउँमा रहेका आफ्ना नेता तथा कार्यकर्तामाझ पुग्न थालेका बडिकेदार गाउँपालिका-५ का काङ्ग्रेस नेता दानबहादुर कलेलले बताउनुभयो ।

पार्टी केन्द्रीय कार्यालयले १४औँ महाधिवेशनका लागि जिल्ला अधिवेशन यही असोज १५ गते तोकेपछि जिल्लामा नेताहरुको चहलपहल झनै बढेको हो । कांग्रेसको मौजुदा विधानले दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी लिनसक्ने व्यवस्था गरेको छ । त्यसैले वर्तमान जिल्ला सभापति प्रदीपकुमार देउवा अझै एक कार्यकाल सभापतिको उम्मेदवार हुन पाउने भएपछि उहाँले पनि १४औँ महाधिवेशनमा सभापतिमा आकाङ्क्षा देखाइरहनुभएको छ ।

उता १३औँ महाधिवेशनमा सभापति देउवासँग पराजित हुनुभएका रामप्रसाद उपाध्यायको नाम यसपटक पनि निकै चर्चामा छ । उहाँले आफूलाई स्वभाविक उम्मेदवार रहेको र पालो पनि आफ्नो भएको बताउँदै आउनुभएको छ । यसैगरी महासमिति सदस्यद्वय नरेन्द्रबहादुर सिंह र भूमिराज बडूले पनि सभापतिमा दाबेदारी प्रस्तुत गर्दै आउनु भएपछि जिल्लामा कांग्रेस निर्वाचन निकै रोमाञ्चक हुने आकलन गरिएको नेता घनश्याम पाठकले बताउनुभयो । उम्मेदवारका दाबेदार नेता अहिले खुलेर आफ्नो पक्षमा माहोल बनाउन पालिकाका अभियानमा लागिरहेका छन् ।

यस्तै लामो समयदेखि सक्रिय नेताका रूपमा चिनिँदै आउनुभएका लक्ष्मीराज पाठकको पनि सभापति पदमा चर्चा चलेको छ । विद्यार्थी राजनीतिदेखि नै निष्ठा र त्यागको राजनीति गर्दै आउनुभएका पाठकलाई एकपटक पार्टीको सभापति बनाउनुपर्ने धारणा कार्यकर्तापङ्क्तिमा रहेको अर्का नेता पदमराज जोशीले जानकारी दिनुभयो । प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’का क्षेत्रीय सभापति सीताराम जोशीले पनि जिल्ला सभापतिका लागि तीव्र आकाङ्क्षा देखाइरहनुभएको बताइएको छ । यसैगरी महासमिति सदस्यद्वय डिलबहादुर बम र लोकेन्द्रबहादुर शाहीको पनि सभापति पदमा आकाङ्क्षा रहेको चर्चा छ ।
बडिकेदार गाउँपालिका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि कृष्णबहादुर चन्दले आकाङ्क्षा देखाइरहेको उहाँ निकट नेताहरुले जानकारी दिनुभएको छ । सभापति पदका लागि आकाङ्क्षा सार्वजनिक गर्नेमा पूर्वपार्टी उपसभापति दीपककुमार विष्ट पनि रहनुभएको छ । पार्टीको जिल्ला समितिमा सहसचिव, सचिव हुँदै उपसभापतिसम्मको भूमिका निर्वाह गरिसकेकाले यसपटक सभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने उहाँको भनाइ छ ।

यस्तै आकाङ्क्षा सार्वजनिक गर्नेमा उपसभापति लक्ष्मण सिंह, जिल्ला कार्यसमिति सदस्य जीतबहादुर खड्का रहनुभएको छ । सिंहले आफू उपसभापति भइसकेकाले सभापतिको स्वभाविक उम्मेदवार रहेको बताउँदै आउनुभएको छ भने खड्काले आफू जिल्लामा सधैँ उपलब्ध हुनसक्ने र कार्यकर्तासँग प्रत्यक्ष जनसम्पर्कमा रहनसक्ने व्यक्ति रहेकाले उम्मेदवारी पाउनुपर्ने बताउँदै आउनुभएको छ । प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवार रहनुभएका नेता पदमराज जोशीको नाम चर्चामा रहे पनि उहाँले सार्वजनिकरूपमा सभापतिको आकाङ्क्षी भएको बताउनुभएको छैन । नगर तथा पालिका अधिवेशन असोज ९ र जिल्ला अधिवेशन असोज १५ गते हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर